मानव संसाधन पुँजीलाई विकसित र सशक्तीकरण गर्ने लक्ष्यका साथ ग्रोथ सेलर्स प्रालिको एचआर मिटको १३ औं संस्करण सम्पन्न भएको छ । चैत १२ र १३ गते आयोजित सम्मेलनको उद्घाटन प्रा.डा. सन्दुक रुइतले गरेका थिए ।
सम्मेलनमा मानव संसाधनभित्रका विभिन्न विषयमा की नोट सेसन, समूहगत अन्तर्वार्ता, छलफल, समूहगत अन्तक्र्रियालगायत विभिन्न विषयमा छलफल गरिएको ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले जानकारी दिए ।
नयाँ कार्यक्रममध्ये विभिन्न कम्पनीलाई काठमाडौं युनिभर्सिटीका विभागीय पूर्वडीन प्रा.डा. सुभास केसी अध्यक्षताको निर्णायकमण्डलमार्फत विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
यसअन्तर्गत नेशनल एचआर एक्सिलेन्स अवार्ड एनसेलले पाएको छ भने सब–क्याटेगोरिज् एक्सिलेन्स इन एचआर इनोभेसन एन्ड टेक्नोलोजी अवाड सूर्य नेपाल प्रालिलाई दिइएको छ ।
यस्तै, एक्सिलेन्स इन इम्प्लोई अवार्ड नविल बैंक, एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक, एक्सिलेन्स इन इन्डस्ट्रियल रिलेसन्स् अवार्ड एसियन पेन्टस्ले प्राप्त गरेका छन् ।
कार्यक्रममा मानव संसाधनको क्षेत्रमा लामो योगदान गरेर अवकाश प्रात व्यक्तित्व प्रोफेसर डा. सुवास केसी शिक्षा क्षेत्र, बिना राना स्ट्यान्डर्ड चार्टर्ड बैंक, अम्बरबहादुर थापा युनिलिभर, कुमार जोशी एभरेष्ट बैंक, अवधेशकुमार झा सूर्य नेपाल, दीपकबाबु तिवारी रिलायन्स स्पिनिङ मिल रहेका थिए ।
उक्त अवसरमा मानव संसाधनका क्षेत्रमा कार्यरत व्यक्तिबाट ५० वटा लेख संकलन गरेर प्रकाशित पुस्तकको काठमाडौं विश्वविद्यालयका पूर्वचान्सलर प्रा.डा. सुरेशराज शर्माले विमोचन गरेका थिए ।
विभिन्न क्षेत्रका गरी २६७ जनाको सहभागिता रहेको सम्मेलनमा निम्बल अफिस, राष्ट्रिय वाणिज्य बैंक, मोरङ अटोवक्र्स, एनएलजी इन्स्योरेन्स, डीएभी कलेज, हिमालयन बैंक, प्रभु बैंक, यती कार्पेट, शिवम् सिमेन्ट, ग्रान्ड इन्टरनेसनल हस्पिटललगायतले सहभागिता जनाएका थिए ।