काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज सत्तारुढ नेकपा एमालेले पार्टी कार्यालयसम्बन्धी दुई कार्यक्रमम गर्दैछ । पार्टी अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
बिहान ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण गर्न अध्यक्ष ओलीले शिलान्यास गरेका हुन् ।
बल्खुमा नेकपा एमालेको नाममा करिब तीन रोपनी क्षेत्रफलको जग्गा छ । पहिला एमाले कार्यालय बल्खुमै थियो । २०७२ सालमा गएको भूकम्पले एमाले कार्यालय भवनमा क्षति पुगेको थियो ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा त्यही स्थानमा बन्ने नयाँ कार्यालय भवनको शिलान्यास गर्न ओलीले लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो।
त्यस्तै नेकपा एमालेले आजदेखि थापाथलीस्थित भाडाको घरमा पार्टी कार्यालय सार्दैछ । अहिले धुम्बाराहीमा रहेका कार्यालय एक व्यापारीको थापाथलीस्थित घरमा सार्न लागिएको हो ।
प्रधानमन्त्री ओली बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।