‘दृश्यमा कोशी प्रदेश–१’ सार्वजनिक

राम्रो अनलाइन     ०९ साउन २०८२, शुक्रबार
‘दृश्यमा कोशी प्रदेश–१’ सार्वजनिक

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र र त्यहाँका संस्कृति, कलासँग जोडिएका पक्षलाई उजागर गर्दै नेपालको पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्। पर्यटन प्रवर्धनमा नेपाली कला संस्कृतिको भूमिका महत्वपूर्ण हुने उनले बताए। 

एभरेस्ट ग्यालरीद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘दृश्यमा कोशी प्रदेश–१’ विमोचन कार्यक्रम तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रविधिको सहयोगमा नेपालका विभिन्न भूभाग र त्यहाँ अवस्थित पोखरी, हिमाल, मठमन्दिरलगायतको छायाङ्कन गरी सो क्षेत्रको प्रवर्धन गर्नुपर्ने बताए। उनले स्थानीय सम्पदासँग जोडिएको यथार्थ कथालाई गीतमार्फत उजागर गर्न सके त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गरे। 

उनले नेपालको पूर्वी भेगको पर्यटन प्रवर्धनका लागि पूर्वपर्यटनमन्त्री सुदन किराँतीको अवधारणामा बनेको ‘किराँत सर्किट’ बारे अध्ययन थालिने पनि जानकारी दिए। दृश्यमा कोशी प्रदेश जस्ता भिडियोले  नेपालको जातीय, भाषागत, संस्कृतिको विविधतामाथि अध्ययन गर्न चाहनेका लागिसमेत जिज्ञासा उत्पन्न हुने बताए । 

पूर्वमन्त्री सुदन किराँतीले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता रहेको रैथाने स्वाद र त्यहाँको संस्कार नै पर्यटकको रोजाइमा पर्ने बताउँदै यस्ता विषयलाई प्रविधिको सहयोगमा विश्वमाझ देखाउन सके नेपालको विकासका लागि पर्यटन क्षेत्र दिगो स्रोत हुने दाबी गरे। 

कोशी प्रदेशका वन तथा वातावरण, पर्यटनमन्त्री सदानन्द मण्डलले कोशी प्रदेशले कोशी प्रदेश भ्रमण वर्ष–२०८२ घोषणा गरेको जानकारी दिँदै प्राकृतिक सौन्दर्यले भरिएका स्थानको भ्रमणका लागि आह्वान गरे। 

एभरेस्ट ग्यालरीका प्रबन्ध निर्देशक सनम कठायतले खप्तड क्षेत्रदेखि सुरु गरेर कोशीका विभिन्न क्षेत्र र भोजपुरसम्म गीतको छायाङ्कन गरिएको जानकारी दिए । उनले यसका लागि हरेक स्थानीय तहको सहयोग र हौसला पाएको स्मरण गर्दै ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालगायतका क्षेत्रलाई दृश्यमा कैद गर्ने योजना अन्तिम चरणमा पुगेको बताए। सङ्गीत, नाट्य प्रज्ञा–प्रष्ठिानका उपकुलपति शम्भु राईले पर्यटन प्रवर्धनमा स्थानीय कला, गीतरसङ्गीतको विशेष भूमिका हुने विचार व्यक्त गरे। 

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आगामी दिनमा खिजीदेम्बाका सम्पदा पनि कोशीको सम्पदा जस्तै गरी छायाङ्कन गरिने जानकारी दिँदै सो क्षेत्रको भ्रमण गर्न आह्वान गरे। 

सो अवसरमा विभिन्न स्थानको भिडियो तयार गर्न सहयोगका अतिरिक्त प्रहरी महानिरीक्षक टङ्कबहादुर लामा, बुलु मुकारुङ, शम्भु राईलगायतलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो । एभरेस्ट ग्यालरीले गीतसँगै स्थानीय सम्पदाको छायाङ्कन गरी आन्तरिक तथा बाह्य पर्यटकसँग सम्बन्धित क्षेत्रमा भ्रमणका लागि प्रेरित गर्दै आएको छ । यस पटक कोशी प्रदेशले ‘कोशीको गौरव, हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नाराका साथ मनाइरहेको कोशी प्रदेश पर्यटन वर्षका अवसरमा कोशीका सम्पदाको भिडियो तयार गरिएको हो ।  

प्रतिक्रिया