दशैँ नेपालीको मौलिक चाड हो । यो चाडले सबै नेपालीलाई एकाकार गराउन सक्छ । हिन्दु धर्म नमान्नेहरूले पनि यो चाड धुमधामसँग मनाउने गरेका छन् । यो हाम्रो राष्ट्रिय चाड हो । यो चाडमा सबै जातजाति तथा भाषाभाषी रमाउन सक्ने भएकाले यसले सबैलाई समेट्न सकेको हो । असत्यमाथि सत्यको विजयका रूपमा यो चाडलाई लिन सकिन्छ । न्यायपूर्ण शक्तिको सञ्चय गरी उन्नतितिर लाग्नु नै यो चाडको विशेषता हो ।
दशैँको ऐतिहासिक पक्ष
प्राचीनकालमा राजा–महाराजाहरू प्रत्येक वर्ष आफ्नो राज्य बढाउन विजय यात्रामा निस्कने चलन थियो । वर्षा ऋतुमा बाटाघाटाहरू राम्ररी चल्दैनथे । त्यसैले त्यसबेला आवागमन अपेक्षाकृत कमै हुन्थे । शरद ऋतु लागेपछि वर्षा हटी सबैतिर हरियाली छाउन थाल्ने र आवागमनका हिसाबले सजिलो हुनाले शरदकालमा दुर्गाको आराधना गरी शक्तिको कामना गर्ने र दुर्गा पूजा सकिएपछि विजययात्रामा निस्कने चलन थियो ।
नेपाल खाल्डोका ठ्यासफूहरूमा मल्लकालमा धुमधामसँग दशैँ मनाइएका उल्लेख पाइन्छ । त्यसै गरी अरू राज्यमा पनि दशैँ धुमधामसँग मनाइएका पाइन्छन् । वि.सं. १६१६ मा गोरखा राज्य खडा गरी अघि बढेकाहरूले दशैँलाई अझै बढी महत्व दिएको पाइन्छ । काली र गोरखनाथलाई अत्यन्त महत्वका साथ आराधना गरेको पाइन्छ । मुद्रामा भवानी कुँदिएको कुराले पनि यसको महत्वलाई प्रस्ट पार्न मद्दत गर्छ ।
दशैँमा कोत पूजा
दशैँमा कोतहरूमा पूजा गर्ने र बलि दिने चलन छ । लिच्छविकालका अभिलेखमा ‘कोट्ट’ अर्थात किल्लाको बयान पाइन्छ । वनरक्षाको साथै राज्यको सुरक्षाका लागि पनि कोतहरूको महत्वपूर्ण स्थान हुन्थ्यो । लिच्छविकालमा नेपाल झण्डै–झण्डै अहिलेकै जत्रो थियो । लिच्छविकालपछि राज्य टुक्रिने क्रम सुरु भयो र विक्रमको बाह्रौँ–तेह्रौँ शताब्दीमा पुग्दा नेपालमा तीन वटा राज्य खडा भएको देखिन्छ । पश्चिम एक नम्बर नुवाकोटसम्म खुम्चिएको राज्यलाई पनि मेरो राज्य त्यहाँसम्म फैलिएको छ भनेर केन्द्रका शासकहरू गर्व गर्थे । अर्को राज्य दक्षिणपूर्व भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्य थियो । पश्चिमोत्तर भेगमा नागराजले खडा गरेको सिँजा राज्य थियो ।
यो सिँजा राज्य कुनै बेला वर्तमान चीनको स्वशासित क्षेत्र तिब्बतअन्तर्गत रहेको मानसरोवर क्षेत्रलाई आफूभित्र पार्न समर्थ भयो भने कुनै बेला वर्तमान भारतको उत्तराखण्ड राज्यको कुमाउँ गढवाललाई आफूभित्र पार्न समर्थ भयो । गोपाल राजवंशावली आदि ऐतिहासिक सामग्रीको अनुगमन गर्दा कुनै सामन्तले दुईचार वटा कोत अर्थात किल्ला अँठ्याएर बसिदिएपछि उसलाई तह लगाउन केन्द्रलाई गाह्रो पथ्र्यो । यसैले कोतको महत्वपूर्ण स्थान हुन्थ्यो । शक्तिको पूजा आराधना गर्न कोतको विशेष पूजा गर्ने चलन चलेको हो । ती तीन वटा राज्य पनि टुक्रिएर विक्रमको अठारौँ शताब्दीमा ५२ वटाभन्दा बढी राज्य खडा भए । त्यस बखत धेरै राजा भएका र सबैमा जित्ने इच्छा भएका हुनाले राज्यहरूमा धेरै कोत र किल्ला बन्दै गए । यस अवस्थामा कोत अर्थात् किल्लाको महत्व अझ बढ्दै गयो । ती सबै कोतमा दशैँमा विशेष गरी दुर्गाभवानीको आराधना गर्दै शक्तिको कामना हुन थाल्यो ।
वि.सं. १७९९ मा राजा भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण सुरु गरे । पृथ्वीनारायणका बाबु नरभूपाल शाह नुवाकोट आक्रमण गर्दा असफल भएका थिए र स्वयं पृथ्वीनारायण शाहले पनि राजा भएको लगत्तै नुवाकोटमा आक्रमण गर्दा असफलता पाएका थिए । यसो हुनुको मूल कारण नुवाकोट बलियो किल्ला हुनु नै थियो । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा यस्ता कोत अर्थात् किल्लाहरूको महत्वपूर्ण योगदान थियो । धेरैजसो किल्ला अर्थात् कोत उच्च ठाउँमा हुने हुनाले शत्रुपक्षबाट भएका आक्रमण झेल्न सजिलो हुन्थ्यो ।
दशैँको धार्मिक तथा सांस्कृतिक पक्ष
यो चाड घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमा अर्थात् १५ दिनसम्म मनाइन्छ । समयका हिसाबले १५ दिनसम्म कुनै चाड मनाउनु भनेको विशेष महŒवपूर्ण भएर नै हो भन्ने पुष्टि हुन्छ । देवीको आराधना गरी मनाइने यो पर्व शक्ति पूजाको अतिउत्तम नमुना हो ।
दशैँको प्रसंगमा एकातिर देवीले मधु, कैटभ, महिषासुर, शुम्भ, निशुम्भ, रक्तबीज आदिको वध गरेको कुरा छ भने अर्कोतिर रामचन्द्रले रावणमाथि विजय गरेको प्रसंग पनि जोडिएको छ । सप्तशती अर्थात् चण्डीको पाठ गरी देवीको १० दिनसम्म पूजा–आराधना गरी घटस्थापनाकै दिन राखिएको यबङ्कुर (जमरा) लाएर टीकाप्रसाद लाई आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई टीकाप्रसाद लगाइदिएर आशीर्वाद दिने चलन छ । चण्डीले महिषासुर, चण्ड–मुण्ड, शुम्भ–निशुम्भ, रक्तबीजको असत्यमाथि सत्यको विजयलाई प्रश्रय दिएको छ ।
अखिल भारतवर्षमा आ–आफ्ना ढंगले देवीको आराधना गर्ने परम्परा चल्दै आएको कुरा थाहै छ । नेपालीहरूले पनि दुर्गा भवानीको आराधना गरी दशैँ मनाउँदा दुइटा कुरामा ध्यान दिने गर्छन् । एउटा शक्तिको आराधना गरी शक्तिको सञ्चय गर्ने र अन्यायको प्रतिकार गरी न्याय मार्गप्रति आफू र आफ्नो समाजलाई डो¥याउन प्रयत्न गर्ने । अर्को, असत्य, अधर्म भनेका क्षणिक कुरा हुन् र सत्य र धर्मको विजय हुन्छ भन्ने सन्देश दिनु ।
वर्षमा चार वटा दशैँ
देवी भागवत महात्म्यमा आश्विन, चैत्र, माघ र ज्येष्ठ महिनामा नवरात्र मनाउँदा फलदायक हुन्छ भनिएको छ । यस हिसाबले पुराणका अनुसार पहिला वर्षमा चार वटा दशैँ अर्थात् नवरात्र मनाउने प्रचलन थियो । तर, अहिले दुई वटाको अवशेष बाँकी छैन । बाँकी दुईमध्ये आश्विन र चैतमा दशैँ मनाउने गरिएको छ । चैतमा पनि दशैँ मनाउने गरिएकाले नै असोजमा मनाउने दशैँलाई बडादशैँ भनिएको हो । नेवार समुदायमा दिसी पूजा भनेर ज्येष्ठतिर नवदुर्गाको आराधना गरिए पनि यसले दशैँको स्वरूप लिन सकेको छैन । त्यसैले हामीले अहिले चैत र आश्विनमा गरी दुई वटा मात्रै दशैँ मनाउने गरेका छौँ ।
वसन्त ऋतु अर्थात् चैतमा पर्ने दशैँलाई चैते दशैँ भनिन्छ । तर, यसले शरद ऋतुको बडादशैँको जति व्यापकता लिएको छैन । नेपालको परिपे्रक्ष्यमा लिच्छविकालको कुरा बुझ्ने साधन भनेका अभिलेख नै हुन् । त्यसैले ती अभिलेखका आधारमा दशैँको बारेमा प्रस्टसँग भन्न सकिने स्थिति छैन । तर, पनि केही संकेत पाइन्छन् । लिच्छिविकालपछि यक्ष मल्लको समयलाई पूर्वमध्यकाल भन्ने चलन पनि छ । त्यसबेलाको महत्वपूर्ण सामग्रीमध्ये स्थितिराज मल्लको तयार भएको गोपाल राजवंशावलीमा प्रस्टसँग दशैँ मनाइएको उल्लेख पाइन्छ । चैते दशैँमा पनि नवरात्र हुन्छन् । कसैकसैले नौ दिनसम्म देवीको आराधना गर्ने गर्छन् । तर, धेरैले चैते दशैँको एक दिन अर्थात् अष्टमीको दिन बलि दिएर यो दशैँ मनाउने गरेका छन् ।
नवरात्रमा पुजिने देवी
पहिलो दिन
पहिलो दिन दीप, कलश, गणेश र स्थापित देवीको पूजा गरिन्छ । त्यसदिन गहुँ र जौ मिसाएर ‘ऊँ जयन्ती मंगला काली’ मन्त्रको जप गर्दै जमरा राखिन्छ । शैलपुत्री देवीको पूजा गरिन्छ । शैल अर्थात् हिमालयका घरमा जन्मेकीले देवीको नाम शैलपुत्री रहेको हो ।
दोस्रो दिन
यस दिन देवी दुर्गाको ब्रह्मचारिणी रूपको ध्यान र पूजा गरिन्छ । पूजा गर्नेलाई सदाचार, तप, त्याग, वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
तेस्रो दिन
भगवतीको तेस्रो रूप चन्द्रघण्टा हो । शिरमा अर्धचन्द्र र शिरको आकार घण्टाजस्तो भएकाले उनलार्य चन्द्रघण्टा भनिएको हो । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा हुन्छ ।
चौथो दिन
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा हुन्छ । भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पति गरेकी हुनाले उनको नाम कुष्माण्डा रहेको हो । कुष्माण्डा भनेको कुभिण्डो हो । यसलाई पनि पूजन गरी बलिका रूपमा प्रयोग गर्ने गरिन्छ ।
पाँचौ दिन
पाँचो दिन स्कन्दमाताको पूजा गरिन्छ । कार्तिकेयकी आमा भएकाले देवीलाई स्कन्दमाता भनिएको हो । र, कमलको आसनमा बस्न रुचाउने भएकाले पद्मासन पनि भनिन्छ ।
छैटौँ दिन
देवीको छैटौँ रूप कात्यायनी हो । छैटौँ दिन कात्यायनीको पूजा गरिन्छ । प्रतिपदाको दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा कलशमा षोडशोपचारले कात्यायनीको पूजा गरिन्छ ।
सातौँ दिन
सातौँ दिन कालरात्रीको पूजा गरिन्छ । कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ । अशुभ, भय, अहंकार, अज्ञान आदिको कालका रूपमा अवतार लिएकीले कालरात्रि भनिएको हो । सप्तमीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा जम्मा गरेर फूलपाती भित्र्याइन्छ ।
आठौँ दिन
आठौँ दिनमा महागौरीको पूजा गरिन्छ । सेतो वस्त्र लगाएकी, चार हात भएकी, वृषभमा चढेकी यो भगवतीको आठौँ रूप हो । यसै रूपमा पार्वतीले महादेव वर पाऊँ भनी तपस्या गरेकी थिइन् । गौरवर्ण भएकीले महागौरी भनिएको हो ।
नवौँ दिन
नवमीमा सिद्धिदात्रीको पूजा हुन्छ । घटस्थापनादेखि दैनिक गरिने सप्तशती वा देवीभागवतको पाठ पूर्ण हुन्छ । यस दिन हवन पनि गरिन्छ ।
विजयदशमी
नौ दिनसम्म भगवतीको पूजा गरी दशौँ दिन साइतमा टीका र जमरा लगाइन्छ ।