काठमाडौं – देशका छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । काठमाडौं, प्युठान, कैलाली र भक्तपुरमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, कपन हाइटस्थितमा वाग्मती प्रदेश ०२–००२ ज ८८२१ नम्बरको ईभी गाडीको ठक्करबाट सोही ठाउँ बस्ने संखुवासभा घर भएका फुरू तेम्बा शेर्पाको गएराति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, प्युठानको ऐरावती गाउँपालिका–२, बिरीबाङ खोलास्थितमा बरौलाबाट दाङबाङतर्फ जाँदै गरेको लु१ ज १६६९ नम्बरको जीप बुधबार बेलुकी दुर्घटनामा परेको हो । दुर्घटनामा जीपमा सवार सोही गाउँपालिका–१ बस्ने ६५ वर्षीय सुकबहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका जीपमा सवारमध्ये आठजनाको मर्सीसिटी हस्पिटल बुटवलमा र दुईजनाको निमतारा पोलिक्लिनिक बिजुवारमा उपचार भइरहेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–५, चौरीमा से.१ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने रामबहादुर चौधरीकी छोरी ६ वर्षीया डिनलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्दगोरिया अस्पताल बहुनियामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, नलिन्चोकमा बा.८४ प ६७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१०, चित्तपोल बस्ने ४८ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।