‘म्हः’ पूजालाई आत्मपूजा पनि भनिन्छ । म्हःपूजा यमपञ्चक सँगै जोडिएर आउँछ । यम पञ्चकमा पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी र चौथो दिन गोवद्र्धनपूजा गरिन्छ । गोवद्र्धनपूजाकै दिन नेवार समुदायले म्हःपूजा गर्ने गर्छन् । पाँचौँ दिन दाजुभाइको पूजा गरिन्छ । यम भनेका यमराज हुन् । उनलाई धर्मराज पनि भनिन्छ ।
आफ्नो व्यक्तिगत र देशकै विकासका लागि मान्छे स्वयं जागरुक हुनुपर्छ । आफैँ चेतनशील, जागरुक भए मात्र जुनसुकै काम पनि सफल हुन्छ । त्यसका लागि आफैँलाई पूजा गर्नुपर्छ भन्ने कोणबाट म्हःपूजा सुरु भएको पाइन्छ । म्हःपूजाको कुरा भविष्य पुराणमा पनि आउँछ । यो पौराणिक आख्यान करिब दुई हजार वर्ष पुरानो हो । यस हिसाबले म्हःपूजा करिब दुई हजार वर्षअघि नै चलेको मान्न सकिन्छ ।
‘म आफैँ केही गर्न सक्छु’ भनेर आफ्नो आत्मालाई जागरुक बनाउन म्हःपूजा गरिन्छ । ‘मेरो भगवान् म आफैँमा छ । यसलाई चिनेँ भने म केही गर्न सक्छु’ भनेर म्हःपूजा गरिन्छ । एक हिसाबले यो आत्मजागरण पनि हो ।
हामीकहाँ इन्द्र महाराजले पानी पार्छन् भनिन्छ । ‘इन्द्र महाराजलाई राम्रोसँग पूजा गरे पानी पारिदिन्छन् र धान फल्छ, उत्पादन राम्रो हुन्छ’ भन्ने ठानिन्थ्यो । त्यसलाई देखेर एक दिन कृष्ण (जो भगवान् होइन सामान्य मानिस हुन्) ले भने– इन्द्रले पानी पार्छ भनेर तिमीहरू किन इन्द्रको पूजा गर्छौं ? इन्द्रले के गर्छ ? तिमीहरू आफैँ प्रयत्नशील हौ । तिमीहरू आफैँ लाग्यौ भने धान फल्छ । इन्द्रको पछि लाग्नुको सट्टा आफैँले आफैँलाई चिन ।
पछि कृष्णले यस्तो मान्यताविरुद्ध आन्दोलन चलाए । सबै किसानलाई उनले आफ्नो आन्दोलनमा गोलबद्ध गर्न सफल भए । यो देखेर इन्द्रलाई लाग्यो– ‘मलाई दुनियाँले वास्ता गर्न छोड्यो । पानी बर्साएर सबैलाई नष्ट गरिदिन्छु ।’ उनले ठूलो वर्षा गराए । असिनाका गोला बर्साए । सबै जनताको साथमा कृष्णले गोवद्र्धन पर्वतलाई नै माथि उठाए । उनीहरूका अघि इन्द्रले हार खाए ।
यसलाई पछि केही समुदायले गोवद्र्धनपूजाका रूपमा पूजा गर्न थाले । नेवारले म्हःपूजाको रूपमा पूजा गर्न थाले । दुवैको आशय हो– ‘हामी स्वयं गर्न सक्दा रहेछौँ । खास भगवान् त हामीभित्र रहेछ ।’
आफूले आफैँलाई पूजा गर्न अप्ठ्यारो छ । त्यसैले आफू त्यहाँ भएको मानेर, आफूलाई त्यहाँ प्रतिस्थापन गरेर एउटा मण्डप बनाइन्छ । चामल राखिन्छ । तेल र पानीको गोलो चिन्ह बनाइन्छ । तेलको छाप लागाएपछि त्यो लगभग एक वर्षसम्म जाँदैन । यो चिन्ह गोलाकार अथवा वर्गाकार खालको बनाइन्छ । घरका प्रत्येक सदस्यले छुट्टाछुट्टै मण्डप बनाएर म्हःपूजा गर्छन् । अन्नप्राशन सुरु भएको बच्चादेखि वृद्धसम्मले यो पूजा गर्नुपर्छ । यो पूजामा केही मन्त्र पनि हुन्छ । तर, त्यो जान्नेले मात्र वाचन गर्छन् । सबैले जान्दछन् र गर्नुपर्छ भन्ने पनि छैन ।
म्हःपूजा विशेष गरी नेवार समुदायले मात्रै गर्छ । म्हःपूूजाको महत्व बुझ्नेले यसलाई छोड्दैनन् । नबुझ्नेले यसलाई केवल परम्परा मात्रै ठान्छन् । नयाँ पुस्तामा यो अलि कम भएको छ । यसको महत्व हामीले बुझाउन नसकेर पनि हो । सरकार, प्राज्ञिक संस्था, विश्वविद्यालयले यस्तो कुरामा ध्यान दिनुपर्छ । नयाँ पुस्तालाई सुरुदेखि नै यो कुरा बुझाउन सकियो भने उनीहरूको त्यसप्रति लगाव बढ्छ । यसको सही अर्थ बुझेपछि चाहिँ यो छोड्न नहुने रहेछ भन्ने सबैलाई लाग्छ ।