वर्षमा चार पटक मनाइन्थ्यो दशैँ

प्रा. दिनेशराज पन्त     २४ असोज २०८१, बिहिबार
वर्षमा चार पटक मनाइन्थ्यो दशैँ

दशैँ नेपालीहरूले मनाउने सबैभन्दा ठूलो चाड हो । यो निश्चित धर्म मान्ने तथा जाति विशेषले मात्र मनाउने चाड होइन । धेरै मानिसले एकसाथ मनाउने भएकाले यस चाडको विशेष महत्व छ । यो चाडले सबै नेपालीलाई एकाकार गराउन सक्छ । यो चाडमा सबै जातजाति र भाषाभाषी रमाउन सक्छन् । असत्यमाथि सत्यको विजयका रूपमा यो चाडलाई लिन सकिन्छ । देवी भागवत महात्म्यमा आश्विन, चैत्र, माघ र ज्येष्ठ महिनामा नवरात्र मनाउँदा फलदायक हुन्छ भनिएको छ । यस हिसाबले पुराणका अनुसार पहिला वर्षमा चार वटा दशैँ अर्थात् नवरात्र मनाउने प्रचलन थियो । तर, अहिले दुई वटाको अवशेष बाँकी छैन । बाँकी दुई वटामध्ये आश्विन र चैतमा दशैँ मनाउने गरिएको छ । चैतमा पनि दशैँ मनाउने गरिएकाले नै असोजमा मनाउने दशैँलाई बडादशैँ भनिएको हो । नेवार समुदायमा दिसी पूजा भनेर ज्येष्ठतिर नवदुर्गाको आराधना गरिए पनि यसले दशैँको स्वरूप लिन सकेको छैन । त्यसैले हामीले अहिले चैत र आश्विनमा गरी दुई वटा मात्रै दशैँ मनाउने गरेका छौँ । 

वसन्त ऋतु अर्थात् चैतमा पर्ने दशैँलाई चैते दशैँ भनिन्छ । तर, यसले शरद ऋतुको बडादशैँको जति व्यापकता लिएको छैन । नेपालको परिपे्रक्ष्यमा लिच्छविकालको कुरा बुझ्ने साधन भनेका अभिलेखहरू नै हुन् । त्यसैले ती अभिलेखहरूको आधारमा दशैँको बारेमा प्रष्टसँग भन्न सकिने स्थिति छैन । तर, पनि केही संकेत पाइन्छन् । लिच्छिविकालपछि यक्ष मल्लको समयलाई पूर्व मध्यकाल भन्ने चलन पनि छ । त्यसबेलाको महत्वपूर्ण सामग्रीमध्ये स्थितिराज मल्लको तयार भएको गोपाल राजवंशावलीमा प्रष्टसँग दशैँ मनाइएको उल्लेख पाइन्छ । चैत दशैँमा पनि नवरात्र हुन्छन् । कसैकसैले नौ दिनसम्म देवीको आराधना गर्ने गर्छन् । तर, धेरैले चैते दशैँको एक दिन अर्थात् अष्टमीको दिन बलि दिएर यो दशैँ मनाउने गरेका छन् । 

प्राचीनकालमा राजा–महाराजहरू प्रत्येक वर्ष आफ्नो राज्य विस्तार गर्न विजय यात्रामा निस्कने चलन थियो । वर्षा ऋतुमा बाटाघाटा राम्ररी चल्दैनथे । शरद ऋतु लागेपछि वर्षा हटी सबैतिर हरियाली छाउन थाल्ने र आवगमनका हिसाबले सजिलो हुनाले शरदकालमा दुर्गाको आराधना गरी शक्तिको कामना गर्ने र दुर्गा पूजा सकिएपछि विजययात्रामा निस्कने चलन थियो । सप्तसती अर्थात् चण्डीको पाठ गरी देवीको १० दिनसम्म पूजा–आराधना गरी घटस्थापनाकै दिन राखिएको यबङ्कुर (जमरा) लगाएर टीकाप्रसाद लगाई आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई टीकाप्रसाद लगाइदिएर आशीर्वाद दिने चलन छ । नेपाल खाल्डोका ठ्यासफूहरूमा मल्लकालमा धुमधामसँग दशैँ मनाइएका उल्लेख पाइन्छन् । त्यसै गरी अरू राज्यमा पनि दशैँ धुमधामसँग मनाइएका पाइन्छन् । 

दशैँको प्रसंगमा एकातिर देवीले मधु, कैटभ, महिषासुर, शुम्भ, निशुम्भ, रक्तबीज आदिको वध गरेको कुरा छ भने अर्कोतिर रामचन्द्रले रावणमाथि विजय गरेको प्रसंग पनि जोडिएको छ । 
दशैँमा कोतहरूमा पूजा गर्ने तथा बलि दिने चलन छ । लिच्छविकालका अभिलेखमा ‘कोट्ट’ अर्थात् किल्लाको बयान पाइन्छ । राज्यको सुरक्षाका लागि पनि कोतहरूको महत्वपूर्ण स्थान हुन्थ्यो । त्यसैले कोतहरूमा पूजा तथा बलि दिने प्रचलन सुरु भएको हो । 

प्रतिक्रिया