चर्चित कोलम्बियन गायिका शाकिरा सन् २०२५ को मेट गालामा नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रवल गुरुङद्वारा डिजाइन गरिएको विशेष गाउनमा उपस्थित भइन्, जसले फेसन र मिडिया दुनियाँमा ठूलो चर्चा पायो। शाकिराले मे ५, २०२५ मा न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजित मेट गालामा फेसन डिजाइनर गुरुङको डिजाइनमा तयार गरिएको बबलगम गुलाबी रंगको गाउन लगाएकी थिइन्। यस गाउनमा साइड कटआउट्स र विशाल ट्रेन थियो । जसले उनलाई राजकुमारी लुक दिएको थियो । उनले गाउनसँग मिल्दो गुलाबी रत्नको हार र कालो पारदर्शी पञ्जा पनि लगाएकी थिइन् ।

शाकिराको गाउन यति जटिल थियो कि उनलाई कार्यक्रम स्थलतर्फ जाँदै गर्दा लिमोजिनमै सिलाइ गर्नुपरेको थियो। यो क्षण गायिका निकोल शर्जिन्जरले इन्स्टाग्राममा सेयर गरेकी थिइन्, जहाँ शाकिरा सुईको सानो चोट लाग्दा पनि हाँस्दै देखिन्छिन् ।

सन् २०२५ को मेट गालाको विषयवस्तु काला समुदायको फेसन र पहिचानलाई केन्द्रमा राखिएको थियो। शाकिराको गुलाबी गाउनले यो विषयवस्तुसँग प्रत्यक्ष मेल नखाए पनि, उनको आत्मविश्वास र फेसन सेन्सले सबैको ध्यान खिच्यो ।

प्रवल गुरुङ काठमाडौँमा हुर्केका हुन् । उनी अहिले न्यूयोर्कमा आधारित अन्तर्राष्ट्रिय फेसन डिजाइनर हुन्। उनले यसअघि पनि केट मिडलटन, लेडी गागा, मिशेल ओबामा जस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूका लागि डिजाइन गरिसकेका छन् । शाकिराको यो लुकले गुरुङको फेसन यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।


