देशभरिका कारागारमा गृह मन्त्रालयले योग शिविर चलाउने 

राम्रो अनलाइन     १२ मंसिर २०८०, मङ्गलबार
देशभरिका कारागारमा गृह मन्त्रालयले योग शिविर चलाउने 


काठमाडौँ–गृह मन्त्रालयले देशभरिका कारागारमा पनि योग शिविर संचालन गर्ने भएको छ। गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त अभियान सञ्चालन गरेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एक पटकमा ६०-७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराउन लागेको हो। यसअघि नख्खु, भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भइसकेको छ।

प्रतिक्रिया