चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

राम्रो अनलाइन     ०१ जेठ २०८०, सोमबार
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो


काठमाडौँ–नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिए । 

सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उनले बताए । महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क  रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताए। 

नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको रू पाँच सय १५ परामर्श शुल्क तोकिएको छ । 

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । 

डीएम/एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए रु आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि रू नौ सय ४० परामर्श शुल्क तोकिएको छ । 

साथै एमडी÷एमएस÷एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले रु ७५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा रु आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा रु नौ सय ४० शुल्क तोकिएको छ । 

प्रतिक्रिया