वर्षायाममा दिनभरि मेकअप टिकाइराख्न महिलालाई हम्मे–हम्मे पर्छ । अफिस, कार्यक्रम वा भेटघाटका लागि घरबाट मेकअप गरेर निस्के पनि बर्सातको पानीले मेकअप बगाउने डर भइरहन्छ । दिनभरि मेकअप टिकाउन आजभोलि वाटरप्रुफ मेकअप धेरै महिलाको रोजाइमा पर्न थालेको छ ।
वाटरफ्रुप मेकअपमा सिलिकन, बी–वाक्सजस्ता सामग्री मिसाइएका हुन्छन् । यिनले मेकअपलाई बग्न दिँदैनन् । यस मेकअपमा फाउन्डेसन, कन्सिलर, मस्कारा, आइलाइनर, ब्लस, फेस प्राइमर, लुज पाउडरलगायत सबै वाटरप्रुफ हुन्छन् । वाटरप्रुफ फाउन्डेसन र लुज पाउडर हातखुट्टा, घाँटी वरिपरि र शरीरका अन्य देखिने भागमा पनि प्रयोग गर्न सकिन्छ ।
वाटरप्रुफ मेकअप हटाउन सामान्य किसिमको क्लिन्जरभन्दा वाटरफ्रुप क्लिन्जरको प्रयोग गर्नु बेस हुन्छ । वाटरप्रुफ मेकअप अनुहारबाट राम्ररी सफा गरिएन भने छालामा भएका रोमछिद्र टालिन्छन् र छालाले राम्ररी सास फेर्न पाउँदैन । जसले गर्दा छालामा विभिन्न किसिमका समस्या देखिन सक्छन् ।
वाटरपु्रफ मेकअप गर्ने तरिका
–सर्वप्रथम क्लिन्जरले अनुहार सफा गर्नुपर्छ ।
–आफ्नो छालाको रङअनुसार फाउन्डेसन छान्नुपर्छ ।
–तैलीय छाला (अइली स्किन) का लागि म्याट फिनिस र सुक्खा छालाका लागि क्रिमी बेसको फाउन्डेसन प्रयोग गर्नुपर्छ ।
–त्यसपछि ब्रसको सहायताले फाउन्डेसन लगाउनुपर्छ ।
–डार्क सर्कल, फाइन लाइन्स, डन्डीफोर भएमा सानो ब्रसको सहायताले कन्सिलर लगाउनुपर्छ ।
–आँखाको मेकअप गर्नुअघि वाटरप्रुफ प्राइमर लगाउनुपर्छ ।
–आइलाइनर लगाउँदा आइपेन्सिल अथवा लिक्विड लाइनर मसिनो ब्रसले लगाउनुपर्छ ।
–ड्रेसअनुसार मिलाएर वाटरपु्रफ आइस्याडो लगाउनुपर्छ ।
–मस्कारा लगाउनुअघि आइल्यासेजलाई कर्ल गरेर वाटरप्रुफ मस्कारा लगाउनुपर्छ ।
–ओठमा पहिला लिप बाम लगाउनुपर्छ र लिप लाइनरले ओठलाई सेप दिनुपर्छ । त्यसपछि ब्रसले लिपस्टिक दल्नुपर्छ ।
–ब्रोन्जरले अनुहारका सबै भाग हाइलाइट गर्नुपर्छ र ब्लस गर्नुपर्छ ।
–अन्तिममा मेकअप स्प्रे गर्ने । यसले मेकअपलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ ।