नुहाउन अल्छी मान्ने आमिर

बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान आफ्नो काममा स–साना कुरामा पनि ध्यान दिन्छन्। काममा उनी कुनै किसिमको सम्झौता गर्दैनन्। अल्छी गर्ने कुरा त सोच्नै सकिन्न। व्यावसायिक जीवनमा आलस्यबाट कोसौँ टाढा रहने उनी व्यक्तिगत जीवनमा भने नुहाउन अल्छी गर्छन्। एक पटक भारतीय मिडियामा अन्तर्वार्ता दिँदा उनले सो कुरा बताएका थिए। ‘आवश्यक छैन भने नुहाउँदिनँ,’ अन्तर्वार्तामा उनले भनेका थिए, ‘घरमा बस्दा त म नुहाउँदै नुहाउँदिनँ।’
बाथरुममा घण्टौँ बिताउने सैफ

अभिनेता सैफ अली खानको अनोठौ बानी छ। उनलाई बाथरुममा समय बिताउन खूब मन पर्छ। बाथरुममा घण्टौँ बिताउन सक्छन्।उनी बाथरुममा घण्टौँ कसरी बस्न सक्छन् ? भनेर धेरै मानिस छक्क पर्ने गरेका छन्। तर, सैफले आफ्नो बाथरुममा लाइब्रेरी बनाएका छन्। त्यहाँ बसेर उनी घण्टौँ किताब पढ्छन्।
साबुनप्रेमी सलमान

अभिनेता सलमान खान साबुनका सोखिन छन्। उनलाई साबुन जम्मा गर्ने सोख छ। उनले संसारका विभिन्न ठाउँका साबुन जम्मा गरेका छन्। उनीसँग ह्यान्ड मेडदेखि हर्बल सपसम्म छन्। डिजाइनर साबुन पनि उनको कलेक्सनमा छ। सलमानलाई फलफूल र तरकारीबाट बनेका साबुन प्रिय लाग्छन्।
दुवै हातमा घडी बाँध्ने अमिताभ

बलिउडका महानायक अमिताभ बच्चन फिल्म ‘कुली’ को सुटिङका क्रममा घाइते भएका थिए। त्यसपछि लामो समयसम्म उनको दाहिने हात काम गर्न असक्षम भयो। उनले देब्रे हातले लेख्न सुरु गरे।पछि छोराछोरी विदेशमा हुँदा अमिताभले दुवै हातमा घडी लगाउने गरेका छन्। एउटामा भारतको समय र अर्को जहाँ छोराछोरी गएका छन्, त्यहाँको समय हेर्ने गरेका छन्। दुई हातमा घडी लगाउन अमिताभले छोरा अभिषेक बच्चन विदेशमा पढ्दाताकादेखि सुरु गरेका हुन्। एक अन्तर्वार्तामा अभिषेकले भनेका थिए– ‘म युरोपमा पढ्दा मेरी आमा (जया बच्चन) दुवैतिरको समय थाहा पाउन दुई हातमा घडी लगाउनुहुन्थ्यो। पछि बुबाले पनि उहाँलाई फलो गर्न थाल्नुभयो।’ त्यसबाहेक अमिताभले नेटवर्क समस्याबाट बच्न थुप्रै मोबाइल फोन पनि बोक्ने गरेका छन्।
सारीकी सोखिन विद्या

अभिनेत्री विद्या बालन सारीकी सोखिन छिन्। सारी उनको प्रिय पहिरन हो। विद्याको दराजमा हजारभन्दा बढी सारी छन्। ‘मलाई सारी असाध्यै मन पर्छ,’ एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सुत्दासमेत सारी लगाउन सक्छु।’ सिल्क सारी भनेपछि भुतुक्कै हुने गर्छिन्। ‘मसँग थुप्रै सिल्क सारी छन्,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई सारी जति भए पनि पुग्दैन।’