काठमाडौँ–भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छिन्। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन्।
“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भनिन् । उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन्। उनी संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आएकी हुन्।
उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले आज साँझ तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनेछिन्।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए।
उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”
आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किने कार्यक्रम छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।
उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।