बिहारमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी

राम्रो अनलाइन     १८ चैत २०७७, बुधबार

महोत्तरी । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी भारत, विहारको सीतामढीमा भेटिएका छन् ।  उनीहरू सीतामढी पुगेको त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले बताए ।  किशोरीहरू सकुशल रहेको प्रहरीले बताएको छ । 

मंगलबार दिउँसो २ बजे घाँस काट्न गएका भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान हराएका थिए । 

उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको छ । सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो ।

प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया