काठमाडौँ । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा उनीहरूले आरोहण गरेको जानकारी पोष्ट गरेकी छन् ।
बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्डमा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।
पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् ।
वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।