भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति

राम्रो अनलाइन     १४ वैशाख २०८२, आइतबार

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।  

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा निराजन सुवेदीले जानकारी दिए । उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले चार दिनभित्र प्रतिवेदन बुझाउने छ ।

आगलागीका कारण आजदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरङ्ग ९ओपिडी० सेवा बन्द गरिएको अस्पतालका मेसु डा सुवेदीले बताए । आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपिडी सेवा बन्द गरिएको उहाँले उल्लेख गरे।  

अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिनलगायत सबै जलेर नष्ट भएकाले पनि ओपिडी सेवा प्रभावित भएको सुवेदीले बताए । उनका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् । शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसके पनि भौतिक क्षति भने भएको अस्पतालले जनाएको छ । 

मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले जानकारी दिए । उनका अनुसार आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधि जलेर नष्ट भएका छन् । 

आगलागीको कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी नियन्त्रण गर्न करिब दुई घण्टा लागेको थियो । 

प्रतिक्रिया