काठमाडौं । भारतमा शुक्रबार गत नोभेम्बर २९ यताको सबैभन्दा धेरै ४० हजार कोभिड १९ का संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको र शुक्रबार करिब ४० हजार नयाँ संक्रमित थपिएका जानकारी दिएको हो । मन्त्रालयले भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको जनाएको छ ।
शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ । एक लाख ५९ हजार ३७० को कोभिड १९ का कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतभर १५४ जनाको मृत्यु भएको छ ।
शुक्रबार सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा फेला परेका छन् । त्यहाँ थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत छन् । मन्त्रालयले पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको जनाएको छ ।
पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुनः संक्रमण बढ्न थालेको हो ।
भारतको पब्लिक हेल्थ फाउण्डेसनका अध्यक्ष के श्रीनाथ रेड्डीले दुवै पक्षले राम्रोसँग कोरोना नियन्त्रणको मापदण्ड पालना नगरेकाले अहिलेको अवस्था आएको बताए ।
भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म चार सय मानिसहरु कोरोनाको नयाँ प्रकार (भेरियन्ट) बाट संक्रमित भएको बताएको छ । जसमध्ये १५८ जना मानिसहरु पछिल्लो दुई सातामा फेला परेका हुन् । बाहिरबाट आएको नयाँ प्रकार र आन्तरिकरुपमा नै म्युटेट भएर बनेको नयाँ प्रकारको कारण भारतमा कोरोना संक्रमण बढिरहेको हुन मन्त्रालयले बताएको छ ।
पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि भारतका केही सहरले रात्रीकालीन कफ्र्यु र धार्मिक तथा राजनीतिक भेलामा रोक लगाउनेजस्ता नियम लगाएका छन् । शुक्रबार भारतको महाराष्ट्रले थिएटर तथा सिनेमा हलमा कुल क्षमताको आधा मानिस मात्र राख्न पाइने नियम ल्याएको छ ।
(एजेन्सीहरुको सहयोगमा)