नयाँ दिल्ली, १२ वैशाख (एएनआई) : भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ ।
दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरणअनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको परीक्षण गराएकामध्ये ३२.२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीले जनाएका छन् । तीमध्ये १.३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।
भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका थिए ।
भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।