म सौन्दर्य व्यवसायमा लागेको २३ वर्ष भयो । यो मेरो रहर र रुचिको पेशा हो । मलाई भित्रैदेखि गर्न मन लागेको काम गरेकाले आफ्नो पेशाबाट सन्तुष्ट छु । धेरैलाई आफूले गरिरहेको कामबाट सन्तुष्टि नमिलेको देख्छु । तर, मलाई आफूले गरिरहेको कामप्रति कुनै गुनासो छैन । मैले ब्युटिसियनका रूपमा विभिन्न ठाउँमा काम गरेँ । १४ वर्षयता काठमाडौँ मलमा फेसियल हाउस सञ्चालन गरेर सौन्दर्यसम्बन्धी सेवा दिइरहेकी छु । काठमाडौँमा सीटीसी मलमा फेसियल हाउसको लक्जरी ब्रान्च छ भने काठमाडौँकै बागबजार प्लाजा र पोखरमा पनि फेसियल हाउसका शाखा सञ्चालन गरिरहेकी छु ।
मैले ब्युटिसियन बन्छु भन्दा घरपरिवारको सहमति थिएन । घर चलाउनका लागि मैलै काम नै गर्नुपर्ने अवस्था थिएन । मेरो अवश्यकताहरू परिवारले पु¥याइदिएकै थिए । तर, मलाई राम्री बन्ने र बनाउने काममा रुचि थियो । त्यही भएर म यो पेशामा आएँ ।
सुरुमा मैले ब्युटिपार्लरमा पैसा नलिईकन काम गरेकी थिएँ । हुनेखाने परिवारकी छोरीबुहारी भएर अरूको ब्युटिपार्लरमा गएर काम गरेको परिवारका अन्य सदस्यलाई मन परेको थिएन । टाइमपास हुन्छ भन्दै म काममा जान्थेँ । ब्युटिपार्लरमा काम गर्दागर्दै मैले आफूलाई चाहिने थप सीप सिक्दै गएँ । सौन्दर्यका केही विषय स्वास्थ्यसँग जोडिने भएकाले डा. पद्मा लामासँग छालासम्बन्धी तालिम लिएँ । त्यसपछि थाइल्यान्ड र चीन पुगेर सौन्दर्यसम्बन्धी तालिम लिएँ ।
काम सुरु गरेको नौ वर्षपछि मैले काठमाडौँ मलमा फेसियल हाउस खोलेकी हुँ । आफ्नै व्यवसाय सुरु गरेपछि पनि घरपरिवारले यो पेशालाई मन पराएका थिएनन् । आफूलाई सञ्चालकका रूपमा चिनाउनुपर्ने शर्त घरपरिवारको थियो । मलाई आफ्नो सीप लुकाएर बस्न मन लागेन । जुन काम म नौ वर्षदेखि गरिरहेकी थिएँ त्यो काम फेसियल हाउसमा पनि गर्न थालेँ । मैले आफूलाई ब्युटिसियनकै रूपमा चिनाउन थालेँ ।
यी २३ वर्षमा सौन्दर्य क्षेत्रलाई हेर्ने दृष्टिकोण धेरै बदलिएको छ । त्यतिबेला ब्युटिसियन भन्दा नाक खुम्च्याइन्थ्यो । तर, अहिले इज्जतिलो पेशाका रूपमा लिइन्छ । अहिले धेरैमा सौन्दर्यसम्बन्धी चासो र चेतना बढ्दै गएको छ । ‘ब्युटिपार्लर जानु भनेको नक्कली हुनु हो’ भन्ने सोचमा परिवर्तन आएको छ । सौन्दर्य महिलाहरूको मात्र चासोको विषय हो भन्ने धारणामा परिवर्तन आएको छ । अहिले पुरुष पनि सौन्दर्यप्रति सचेत भएका छन् । फेसियल हाउसमा सौन्दर्यसम्बन्धी सेवा लिन महिला र पुरुष दुवै उस्तै हाराहारीमा आउँछन् । अरूलाई सुन्दर बनाउँदा आउने आनन्द बेग्लै हुन्छ ।
रहरले सिकेको यो पेशा अहिले मेरो जीवनको अभिन्न अंग बनेको छ । ‘मैले किन काम गर्नुप¥यो’ भनेर काम नगरेको भए आज म आफ्नो खुट्टामा उभिन सक्ने थिइनँ । मैले कतिपय अवस्थामा घरपरिवारलाई पनि भरथेग गरेकी छु । आफूलाई मन परेको काममा निरन्तर लाग्ने हो भने त्यसबाट सफलता हात पार्न सकिन्छ । म घरधन्दा गरेर बसिरहेका दिदीबहिनीहरूलाई आफूले सक्ने र रुचि भएको क्षेत्रमा बिनासंकोच काम गर्न सुझाव दिन चाहन्छु ।