काठमाडौँ–उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन्। ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले भने, ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवद्र्धन गरिनेसमेत बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताए।

‘सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२÷६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने।
काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनको घरमा बसेर कार्यक्रम बनाइएको समेत उनले स्मरण गरे । ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकाले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको उनले बताए।
सामाजिक विविधताभित्रको एकतामा विग्रह फैलाउने काम हुनसक्नेतर्फ सचेत हुँदै अगाडि बढ्नुपर्ने र ज्यापुजस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए।