अनलाइन बाल सुरक्षा चुनौतीपूर्ण

राम्रो अनलाइन     २५ माघ २०७८, मङ्गलबार
अनलाइन बाल सुरक्षा चुनौतीपूर्ण


काठमाडौँ– ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९औँ विश्व सुरक्षित इन्टरनेट दिवस आज नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा आज नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिले वर्तमान समयमा सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुन नसक्ने भए पनि यसबाट बालबालिकामा उत्पन्न हुन सक्ने असुरक्षाबारे अभिभावक र सम्बन्धित पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

 उनीहरुले विद्यमान कानून र नीतिको कार्यान्वयन गर्दै नयाँ नयाँ आयामहरुलाई समावेश गरेर कानून संशोधन गर्न पनि सुझाव दिएका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तर्जुमा गरी कार्यान्वयन गरिरहेको जनाउँदै इन्टरनेटका माध्यमबाट हुने बाल अधिकार हननका घटना रोक्न साइबर सुरक्षा नीति र कानूनमा सुधार गरिने बताए । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बालबालिकामा हुन सक्ने इन्टरनेट सुरक्षा चुनौतीको सामना गर्ने पहिलो उपाय घर परिवार र अभिभावकमै रहेको बताउँदै यसका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयका डीन प्रा डा मनिष पोखरेलले ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’, काठमाडौँ स्कुल अफ ल का सहप्राध्यापक अधिवक्ता कपिल अर्यालले ‘इन्टरनेट सुरक्षाको कानूनी अवस्था र वर्तमान व्यवस्था’ र बाल मजदुर सरोकार केन्द्र (सिविन)का सागर भण्डारीले ‘अनलाइन बाल सुरक्षाका सवाल, सामाजिक संस्थाहरुको भूमिका’ बारे प्रस्तुतीकरण गरेका थिए । 

नेटफोर गुड एलाइन्सका संयोजक नवराज दाहालले साइबर सुरक्षा र बाल अधिकारका सचेतना कार्यक्रमलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिने जानकारी दिए । प्राधिकरण, समाज र एलाइन्सलगायत संस्थाहरुले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाबीच बाल अधिकारका विभिन्न छ सवालमा प्रदेशस्तरमा भिडियो प्रतिस्पर्धाका लागि आह्वान पनि गरेका छन् ।
 

प्रतिक्रिया