‘अब्बा’ (२०७०) कथासंग्रहबाट प्रशस्त सह्राइएका श्याम साह युवा पुस्ताका प्रभावशाली कथाकार हुन् । समाजको पीँधमा रहेका समुदाय र तीमाथि हुने दमन नै उनको कथाको मूल विषय हो । उनको संग्रहका कथाबाट नाटकसमेत मञ्चन भइसकेको छ । राजनीति र समाजको अविवेकी नीतिमाथि उनका कथाले धावा बोल्ने गर्छन् । कथाकार साहसँग नेपाली कथामाथि केन्द्रित रहेर रूपक घिमिरेले संवाद गरेका छन् ।
तपाईंका कथामा विद्रूप समयसँगै, शोषण, त्रास र दलनको चित्रण पाइन्छ । के हामी बाँचेको समय यस्तै भयावह छ ?
जुन देश, समाज र समयमा हामी बसेका छौँ, यो कालखण्डमा कसैले कसैमाथि दलन गरिरहेकै छ । विश्व परिवेशकै कुरा गर्ने हो भने, जहाँ पनि विभेद व्याप्त छ । एक देशले अर्को देशमाथि दमन गरिहेको छ । अन्तरदेशीय दलन, श्रम र पुँजीमाथि टेकेर गरिएको छ । शोषणको प्रकृति फरक–फरक होला तर अहिले हामी बाँचिरहेको समाजको जुनसुकै तहमा वर्ग, विभेद र विसंगति छ । यसैले मेरो कथामा त्यसको प्रतिविम्ब आउनु कुनै नौलो कुरा होइन ।
विश्वलाई अर्थ र स्रोतका आधारमा विकसित र अविकसित भनेर छुट्याइएको छ । हाम्रो देशको परिवेशमा दमन र शोषण जात, भाषा, धर्म र क्षेत्रका आधारमा हुने गरेको छ । जसलाई संविधानले पनि सम्बोधन गरिसकेको छ । संविधानले किटानै गरिसक्दा पनि देशभित्र विविध कारणले ‘कोर र पेरिफेरी’ निर्माण भइरहेको छ । जसकारण शोषण केही घटे पनि यथावत् नै छ ।
तपाईंका कथामा राज्यपक्षका आतंक बढी देखिन्छन् । राज्यले मधेशमाथि गरेको विभेदको बोध भएपछि लेख्नुभएको हो ?
मेरा कथामा मधेश मात्र छैन । तर, म जुन समाजमा हुर्किएँ, त्यो परिवेश मधेशको थियो । जहाँ भाषा, रङ, पोशाकका आधारमा लामो समयदेखि शोषण चल्दै आएको छ । त्यो विभेद मै आफैँले पनि भोगेका कारण मेरा कथामा मधेशका दमन कुनै न कुनै रूपमा पोखिएका छन् ।
कथामार्फत गरिने राजनीति अथवा ‘कथा र चरित्र’बाट नयाँ युग (राजनीतिक विचार) सुरु हुन सम्भव छ ?
आन्दोलन दुई किसिमले गरिन्छ । एउटा राजनीतिक लहरबाट, अर्को चेतनाबाट । जुनसुकै आन्दोलनमा पनि भीड हुन्छ । तर, केही आन्दोलन यस्ता हुन्छन्, जहाँ मानिस आफ्नै चेतनाले डो¥याएर त्यसपट्टि लाग्छन् । त्यो सांस्कृतिक चेत, साहित्यिक लगायतका समस्त वैचारिक एवम् विविध चेतना निर्माणले मात्र हुन्छ । नत्र, मानिस त्यसै आन्दोलनमा प्रेरित हुँदैन ।
साहित्य र पठनले मानिसलाई बिस्तारै जागरुक बनाउँछ । तर, त्यसका लागि समय लाग्छ । आखिर चेतनाले नै आन्दोलन र क्रान्तिको मार्ग निर्माण गर्छ, जसले सत्ता र शासकलाई पनि झुक्न बाध्य तुल्याउँछ ।
कथा तपाईँका निम्ति के हो ? अनुभूति, शक्ति वा जीवनको प्रतिविम्ब ?
कथा मेरो समाज र समय चिनाउने एउटा माध्यम हो । हामीले भोगेका सुखदुःख, विभेद, त्यसका स्वरूप र समयलाई चित्रण गर्नु मेरा लागि कथा हो ।
प्रायः तपार्ईंका कथा र कथाका प्लटमा सिराहाको गोलबजार क्षेत्रलाई चित्रण गरिएको हुन्छ । फ्ल्यासब्याकलाई समातेर कथा लेख्ने शैलीका कारण यस्तो भएको हो ?
यो प्रतिविम्बको कुरा न हो । सानैदेखि मैले रुसी र हिन्दी कथा बढी पढेँ । त्यसकै प्रभावमा सामाजिक यथार्थ भएका कथाले आकर्षित गर्न थाले । सम्र्पूण मधेशको परिवेश र म हुर्किएको परिवेश लगभग उस्तै–उस्तै छ । मधेशमा भएका असमानता र भोगाइ नै मेरा कथाका मूल विषयवस्तु बन्न पुगेका छन् । यस अर्थमा मैले सिराहा वा गोलबजार बोल्नु भनेको समस्त मधेश बोल्नु हो । मेरा कथामा म स्वयं पनि त कुनै न कुनै स्वरूपमा प्रतिविम्बित भएको हुन्छु होला !
विभेदको अन्त्य हुन्छ कि हुँदैन ?
विभेद समाजिक प्रक्रिया हो । क्रान्तिका बखत केही कुरा उग्र लाग्न सक्छन् । तर, परिर्वतनको बेला क्रान्तिको जस्तो अपेक्षाकृत नतिजा नदेखिन सक्छ । यसले हामीलाई निराश बनाउन सक्छ । तर, क्रान्तिपछि भएको परिर्वतनलाई संस्थागत गर्दै अर्को क्रान्तिको तयारी गर्ने अटुट क्रममा नै यो संसार घुमिरहेको छ । अनि, विभेदको स्वरूप र तह फरक–फरक हुन सक्छन् । तसर्थ, यसको अन्त्य क्रमिक र तहगत रूपमा हुँदै जान्छ । आकस्मिक रूपमा विभेद अन्त्य हुन सम्भव छैन ।
‘लाटीको छोरो’ कथा निकै चर्चित छ । यो कथा लेख्दाकोे ‘भित्री कथा’ कस्तो छ ?
म सानो छँदा गाउँमा हाम्रो आफ्नै होटल थियो । हामी हाटका लागि खानेकुरा बेच्थ्यौँ । बजार बन्दै गरेको त्यस अवस्थाको गाउँमा थुप्रै प्रकारका मान्छेलाई देख्न सकिन्थ्यो । त्यही भीडसँगै कहिलेकाहीँ लाटालाटी आउने गर्थे । एक दिन नजिकै गाउँको लाटी मेरै होटलअगाडि आएको देखेँ । उसले पेट बोकेकी थिई । विवाह नगरेकी लाटीले पेट बोक्नुले समाजमा ठूलो अर्थ राख्थ्यो । बाल्यकालको त्यो घटनाले मलाई केही प्रभाव अवश्य पारेको थियो । अनि, त्यही परिवेश पोख्न मैले यो कथा लेखेँ ।
तर, चाखलाग्दो कुरा के छ भन्दा, कथा लेखिसकेको केही महिनापछि सिराहा जाँदा मैले फेरि त्यस्तै घटना दखेँ । एउटा लाटीले मन्दिरमा बच्चा जन्माएकी रहिछ । अनि, बच्चालाई महिला विकास कार्यालयले उद्धार गर्न खोज्दा लाटीले धेरै प्रतिकार गरेकी थिई । यी दुई संयोग र मेरो कथा मिल्न गएको छ ।
नेपाली कथा सामाजिक यर्थाथवादको वरिपरि बेतालले दौडिएको आरोप सुनिने गर्छ अचेल । तपाईं यही जगमा कथा लेख्ने स्रष्टा । के कथाको पुनःसंरचना आवश्यक छ ?
कुनै पनि कुरालाई कसरी हेर्ने भन्ने कुराले फरक पार्छ । साहित्य कुन हिसाबले लेखिन्छ अथवा किन लेखिन्छ, त्यसमा आ–आफ्नो विचार हुन सक्छ । तर, म केवल आत्मसन्तुष्टि र आनन्दका लागि मात्र साहित्य रच्दिनँ । मेरा लागि साहित्य आनन्द मात्र हैन ।
म जे देख्छु र अनुभूत गर्छु, त्यही लेख्छु । मेरो समयको रेखाबाट म अलग हुनै सक्दिनँ । रह्यो कुरा यथार्थवादको, यो हामीबाट अलग हुनै सक्दैन । विश्वका अधिकांश उत्कृष्ट कथा यही विचारको जगमा लेखिएका छन् ।