अशोक नेपाल
टकटक टकटक टकटक
बाघका पञ्जाझैँ बलिया खुरहरू
टकटक टकटक टकटक
चकमन्न अँध्यारो चिर्दै
दौडिरहेछ
एउटा अग्लो घोडा
जसको रङ रातो छ
एकदम निख्खर रातो
दौडिरहेछ यसरी कि
लागोस्
उसले बोकेको छ
ठूलो जिम्मेवारी
पुग्नु छ कतै
पुर्याउनु छ कुनै महत्त्वपूर्ण दस्तावेज
दौडिरहेछ
चम्मर झुलाउँदै
चम्मर पनि छ निख्खर रातो रङको
टकटक टकटक टकटक
अँध्यारो चिर्दै
दौडिरहेछ कमरेड माओको घोडा
न संकोच
न थकान
टाप नबाँधिएको घोडा
जसको रङ रातो छ
न भीर
न पहरा
न चट्टान
कुनै युरेनियम धातुले बनेजस्तो खुर
जसको रङ पनि छ रातो
दोडँदादोडँदै
उसले निमेषभरमा काट्यो
थुप्रै डाँडा
हिमपहरा
खोलानाला
र भेट्टायो
नौलो भूगोल
आकाश उस्तै
बादलहरू पनि लगभग उस्तै
उस्तै डाँडाहरू
तर, गन्ध फरक
हावाको बेग्लै स्वाद
एकदम बेग्लै भूगोल
रोकियो
टकटक टकटक टकटक
बिलायो अँध्यारो
टलक्क टल्किए
ती नौला हिमालहरू
घोडाले देख्यो तिनै हिमालमा
आफ्नो प्रतिविम्ब
देख्यो हिमालजस्तै सेतो भएको उसको पिठ्यूँ
सिरसिरे हावाले
झुलाइरहेको उसको चम्मर पनि भएछ सेतै रङको
दौडँदादौडँदै
छिचोल्दै गर्दा नयाँ भूगोल
छुटेछ रातो रङ बाटोमै
जसरी छुटे माओत्से तुङ
उतै कतै
र, आइपुग्यो उनको घोडा मात्रै
जो अहिले
न रातो छ
न स्वतन्त्र।