काठमाडौँ– ‘शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकको सम्पदा ढलेको छ, उहाँ जीवित सम्पदा हुनुहुन्थ्यो’, लोकसाहित्य परिषद्का सहसंरक्षक प्रेम शान्ति तुलाधरले भने । परिषद्का संस्थापक संरक्षक रहेका जोशीको निधनप्रति भावुक हुँदै तुलाधरले थपे, ‘लोकसाहित्य, भाषा संस्कृतिको संरक्षण सम्वद्र्धनमा मात्रै होइन उहाँको हरेक क्षेत्रमा उत्तिकै योगदान थियो । उहाँको अभाव मुलुकलाई खड्किरहनेछ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि भाषा, साहित्य, सम्पदा र संस्कृतिको सम्वद्र्र्धनमा अतुलनीय योगदान पुर्याएका जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउँछन् । ‘सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन’, उनले भने ।
सधैँ राष्ट्र र लोक संस्कृतिको उन्नयनमा अहोरात्र चिन्तन मननका साथ खटिरहने वाङ्मय शताब्दी पुरुष जोशीको निधनले मुलुकको सम्पदा ढलेको शुभेच्छुकहरूको प्रतिक्रिया दिएका छन् । संस्कृति, पुरातत्व, लोकसंस्कृतिको सम्वद्र्धन, नेपाली कलालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उनको अतुलनीय योगदान थियो । नेपाल भाषा, नेपाली, अङ्ग्रेजीलगायत भाषामा दक्खल, धार्मिक सहिष्णुता आदि विषयमा उनको अब्बल योगदान रहेको छ ।
वाङ्मय शताब्दी पुरुष जोशीको निधनले साँच्चिकै देशको भाषा, संस्कृति, सम्पदा र सहित्य जगत्मा अतुलनीय क्षति पुगेको छ । जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानको देश तथा विदेशमा समेत चर्चा हुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनले नेपालको साहित्य, संस्कृति र सम्पदाको क्षेत्रमा ठूलो क्षति पुगेको बताए । ‘जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको छ, साँच्चिकै भन्दा एउटा अभिभावकत्व नै गुमेको जस्तो महसुस भइरहेको छ । उहाँको योगदान नेपालको इतिहासमा सधैँ स्मरणीय रहिरहनेछ ।’
शताब्दी पुरुषको जीवनीबारे पुस्तक लेखेका पत्रकार गिरिश गिरीको अनुभवमा स्व जोशी देशलाई माया गर्ने व्यक्ति थिए। ‘त्यो भावनामा होइन यथार्थमा । नेवारी मातृ भाषा भएर पनि खस भाषको जगेर्नामा उहाँको ठूलो योगदान रहेको छ, उनले भने, ‘देशलाई भौतिक अभौतिक धेरै सम्पत्तिहरु दिएर जानुभएको छ । उहाँको चमत्कार भनेको स्मरणशक्ति असाध्यै राम्रो थियो । उहाँलाई होस हुँदासम्म नेपालको जुनसुकै इतिहास र घटनाको प्रष्ट व्याख्या गर्नसक्ने खुबी भएको जिउँदो इतिहासको किताब हुनुहुन्थ्यो, राष्ट्रलाई माया गर्ने त्यो उचाइको व्यक्ति गुमानउनुपर्दा सबैलाई दुखित तुल्याएको छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मय र गौरवको प्रवद्र्धन गर्न जोशीले गरेको योगदान अतुलनीय रहेको बताए । “जोशी एउटा युग र शताब्दी थामेको नेपाली भाषा, संस्कृति, नेवारी भाषा साहित्यको जगेर्ना र प्रवद्र्धनका साथै कलाकार अरनिकोलाई उजागर गर्नसमेत भूमिका खेल्नुभएको थियो ।”
जोशीको योगदानलाई कदर गर्दै प्रतिष्ठानले आजीवन सदस्य दिएको स्मरण गर्दै उप्रेतीले राज्यले प्रदान गर्ने नेपालकै ठूलो पृथ्वी प्रज्ञा पुरस्कार दुई वर्षअघि प्रदान गरिएको जानकारी दिए । जोशी हरेक विधाका स्रष्टालाई प्रोत्साहित गर्ने र अहिलेको पुस्ताको प्रेरणादायी व्यक्ति भएको उनले उल्लेख गरे । “नेपाली प्राज्ञिक जगत्को अभिभावक र प्रेरणाको स्रोतका रूपमा लिएका छौँ, जुन गुमेको छ”, उप्रेतीले भने ।
पत्रकार सुनील महर्जन नेपाल प्रज्ञा प्रतिष्ठान र पुरातत्व विभागको निर्देशक भएर स्व जोशीले नेपाली वाङ्मय क्षेत्रको विकास प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउँछन् । जोशीले नेपाली भाषा र सभ्यताको थलो सिञ्जा क्षेत्रमा गएर अध्ययन गरेका थिए । नेपाली लोकसाहित्यको प्रवद्र्धनमा पनि उहाँको योगदान थियो । नेपालको लोकसंस्कृति नामक पुस्तकले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो ।
ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशीले स्व जोशीको योगदानलाई सङ्गृहीत गर्दै आधुनिक पुस्तामाझ पु¥याउन सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
‘बुबा परिवारवाद भन्दा पनि आदर्शभाव राख्ने व्यक्ति हुनुहुन्थ्यो, राष्ट्र र जनताका लागि सोच्नुहुन्थ्यो, उहाँका लागि परिवार गौण कुरा थियो, हामी नयाँ पुस्ताले उहाँको अनुसरण गर्न सकेनाँै, उहाँ आफ्नो र परिवारभन्दा पनि राष्ट्र र समाजको बारेमा बढी चिन्तित हुनुहुन्थ्यो’, स्व जोशीका जेठा छोरा अणुराज जोशीले भने ।
जोशीसँग विगत १२ वर्षदेखि सहकार्य गर्दै आउनुभएका नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यको भनाइमा साधारण जीवन र उच्च विचारको प्रणेता जोशीको योगदानलाई राष्ट्रले कदर गर्नुपर्छ । जीवनको अन्तिम क्षणसम्म पनि जोशी दिनरात भाषा साहित्यमा निरन्तर लागेका थिए ।
जोशीको माछा पालनको रहर अधुरै
शाक्यको भनाइमा उहाँ (स्व जोशी) मा माछा पालनको धेरै रुचि थियो । माछापालन सम्बन्धी अध्ययन अनुसन्धान पनि गर्नुभएको थियो । ‘मैले भाषा साहित्यतिर पनि लागेँ, मुद्रा संरक्षण पनि गरेँ, अब थरिथरिका माछा पालेर सन्देश दिन्छु’ जोशीको भनाइ उद्धृत गर्दै शाक्यले भने ।
पाँच वर्षदेखि जोशीको निजी सुरक्षामा रहनुभएका जित महर्जनका अनुसार जोशी सक्रिय जीवन रहुन्जेल हरेक दिन निमन्त्रणा भएका सबै कार्यक्रममा पुग्थे । हिँड्न नसक्ने भएपछि धेरैजसो कार्यक्रम घरबाटै हुन्थ्यो, माइक पाएपछि कम्तिमा पनि आधा घण्टा बोल्थे ।
विसं १९७६ वैशाखमा ललितपुरको बखुम्बाहलमा जम्मनुभएका जोशीको १०३ वर्षको उमेरमा आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।