देश अर्थात् कम्पनी
म देशलाई
देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
उभिनु–
मानेर आफ्नो जन्मसिद्ध अधिकार
उभिन्छु देशको खुल्ला आकाशमुनि
तर, लाग्छ–
म्यानपावर कम्पनीको आँगनमा उभिएर
बसिरहेछु बिक्रीको लाइनमा
हरेक नागरिकको लुगा खोल्छ देश
र दाँत गाडेर
जबर्जस्ती लगाइदिन्छ ढाडमा
राहदानीको छाप
पावर गुमाएर म्याउ मात्र बाँकी रहेका
कहिल्यै म्यान हुन नसकेका यी मानिसहरू
मानौँ, यीे हुन् भिजेका दुब्ला बिराला
पुग्छन् हस्याङफस्याङ गर्दै
म्यानपावर कम्पनीमा लाइन बस्न
कहिल्यै सँगै पर्न दिएन कम्पनीले
म्यान र पावरलाई
मालिककै हातको मसल भइरहेछ पावर
यहाँ एउटै छ मालिक
तर, को हुने मालिकको जुत्ता ?
चलिरहेछ हिंस्रक जुहारी
हेर्नोस् त
यी रूख र नागबेली खोलाहरू
यी पहाड र चम्किला हिमालहरू
यी मैदानमा झुलिरहेका धानका बोटहरू
लाइन लागिरहेछन् कम्पनीको अगाडि
कार्टुनमा प्याक गरेर बेच्दै छ कम्पनीले
पुग्नेछन् तिनीहरू समुद्रपारि
केही रहेन बाँकी
कोही रहेनन् बाँकी
जो छन् बाँकी
जोखिममा छ तिनको ज्यान
निकै चतुर छ
कम्पनीको मालिक
जसले बिक्री गर्छ मानिस खुल्लमखुल्ला
तर बेचेको छनकसम्म दिँदैन
फस्टाउँदो उद्यम देखेर
मख्ख परिरहेछ कम्पनीको मालिक
तर, त्यसको अनुहार मिल्दैन मेरो देशसँग
ऊ मनमनै सोचिरहेछ
यो देश नै उडाएर लैजान सकिन्छ कि एक दिन ?
म देशलाई
देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
झाँकी
शिरमाथि कमेरे केशको झाँकी ढल्काएर
मतिभ्रममा उर्लिरहेछ वृद्ध लेखक
त्यसलाई जाकिदिनू चिसोे खोरमा
मुटु थुतेर कुल्चिदिए पनि मस्किरहेछ अविचल
सडकमा ढलेको लाश
त्यसको मुहारमा अत्यास पोतेर
सबैले देख्ने गरी टागिँदिनू खम्बामा
झाँकी प्रदर्शन गर, लोकन्ती !
सप्तरङ्गी झाँकी
उफ्र बाँदरझैँ
र प्रफुल्ल तुल्याऊ लोकतन्त्रलाई
यो लोकतन्त्र दिवस हो
सांस्कृतिक भेषमा ठाँटिएर रङ्गीविरङ्गी
नाच्दै–नाच्दै परेड खेल
र निहुरमुन्टी अभिनन्दन गर गणतन्त्रलाई
यो गणतन्त्र दिवस हो
निहालेर भाँती–भाँतीका संस्कृति
अभिमानले गमक्क फक्रिन्छ देश
मात्र यतिका लागि जोगाइराख्नु संस्कृति
तिमीलाई एउटै सिलमा उनेपछि मात्र
हर्षमा डुबुल्किन सक्छ लोकतन्त्र
यही झाँकी हो
तिम्रो अभीष्ट र अनुष्ठान
युग–युगसम्म बचाएर राख झाँकीलाई
ताकि लट्ठिन सकून् शासक पछिसम्म
देखाओस् युट्युबले हात–हातमा
र भ्युअर पुगून् लाखौँ
तिम्रो साजी रगतले
तिमी आफैँले कोरेको चित्रकला
हेर्ने रहर छ लोकतन्त्रलाई
लोकतन्त्रको ट्याटू खोपेर
प्रदर्शन गर
तिम्रो छालाको फ्लेक्समा
घायल आन्दोलनकारीको खोल्र्याङ्खुट्टी नृत्य हेरेपछि मात्र
वर्षदिनसम्म मन बहलाउन सक्छ लोकतन्त्र
बलात्कृतको क्षतविक्षत झाँकी हेरेपछि मात्र
वर्ष दिनसम्म निदाउन सक्छ गणतन्त्र
वर्षमा एक दिन ब्यँुझने लोकतन्त्रलाई
वर्षदिनको तम्तयारीपछि
देखाऊ रोमहर्षक झाँकी
पुर्खाले सँगालेको बाजा बजाउँदै
उल्लासमय बनाऊ वातावरण
जोगिएका हौ तिमी
मात्र झाँकीका लागि
झाँकी देखाउनु मात्र हो तिम्रो इलम
देखाऊ रगतको झाँकी
देखाऊ रिक्त पेट र विकारी तनकोे झाँकी
देखाऊ सङ्कष्ट र सहस्रधारा आँशुको झाँकी
लोकतन्त्र दिवसको सुअवसरमा
कालो चश्मा खोलेर
दुरबिनबाट हेर्नेछ लोकतन्त्रले
सत्ता पनि प्रदर्शन गरिरहेछ अश्लील झाँकी
बन्दुकको उत्तेजक कीर्तन
नृसंश समृद्धिको जर्जर कवाली
आसुरी अहङ्कारको डकार
सत्ताको निर्वस्त्र झाँकी हेरेर
लज्जाबोधले शिर झुकाइरहेछन् लोकन्ती
यही झाँकी हो
तिम्रो अभीष्ट र अनुष्ठान
पूर्खाले सँगालेको बाजा बजाउँदै
उल्लासमय बनाऊ वातावरण
दुरबिनबाट हेर्नेछ लोकतन्त्रले।
एउटा सवाई सुन
यता सुन–
विश्वका महान् मानिसहरू !
देशका चम्किला अनुहारहरू !
एउटा गलगाँडको
सवाई सुन
फुर्तीसाथ विद्यालय जान्छन्
केटाकेटीहरू बिहान
र फर्किन्छन् बेलुका
घाँटीमा गाँड झुन्डाएर
मानौँ, त्यो कुनै सुनको पोका हो
देश हो यो
जसले झुन्डाउँछ गलगाँड
मानिसको घाँटीमा
यो हो लोकतन्त्रको उपहार
क्रमशः बढ्दै आउँछ गलगाँड
छोपिँदै जान्छ मानिस
फेरिन्छ मानिसको परिचय
एउटा गलगाँडमा
एकअर्कालाई हेरेर व्यर्थमा
गाँड कोराकोर गर्छन् मानिसहरू
कहाँ छ
सुनभन्दा नुन महँगो ?
कहाँ छ
मानिसको जीउभन्दा
प्लास्टिकका चिथ्रा महँगो ?
मस्त मात्तिएर
डिस्कोको रमझममा नाचिरहने
शासकलाई के थाहा छ ?
देशको छाला
कहाँसम्म फैलिएको छ?
जरुर थाहा छ–
त्यहाँबाट आउँछन् कि आउँदैनन्
जैविक घ्युका ठेकीहरू ?
आउँछन् कि आउँदैनन्
भीरमौरीका महका डिब्बाहरू ?
आउँछन् कि आउँदैनन् ?
शहरमा महल ठडाउन
चाम्रा युवाहरूको लस्कर
जहाँ युगौँयुगदेखि छ
छेकाबन्दी
जहाँ एउटा मानवबस्ती
जहिल्यै जाकिएको छ खोँचमा
के त्यहाँको मानिसहरूका वीरता
लेखिएको छ संविधानमा ?
जब राज्य स्वयम् लगाउँछ
त्यहाँ नाकाबन्दी
र आफू अरबबाट आयातीत
हुक्का तानेर बस्छ
फलाक्छ पारवहनको कुरा
तर, आनाकानी गर्छ
खच्चडबाट समेत
नुन पठाउन त्यहाँ
आश्वासन नै आश्वासनको गलगाँड भिरेर
बाँच्नुको नाममा सास मात्र फेरिरहेका
ती मानिसहरूलाई हेर
ती गलगाँडहरूको सवाई सुन
यता सुन–
विश्वका महान् मानिसहरू !
देशका चम्किला अनुहारहरू !
एउटा गलगाँडको
सवाई सुन।
हेडमास्टरको चाबुक
निर्दयताको पराकाष्ठा हो यो हेडमास्टर
श्रीपेचझैँ लगाउँछ चुच्चे टोपी
कोट लगाउँछ पौराणिक कान भएकोे
बेस्सरी छाती कस्छ दौराको तुनाले
हरदम हुन्छ हातमा बेतको छडी
घरी घुँडा टेकाएर
कुखुरा बनाउँछ विद्यार्थीलाई
घरी एक खुट्टा उठाएर
उभ्याउँछ दिनभर
घरी लगाउँछ सिस्नो–पानी
निकै क्षुद्र छ यो हेडमास्टर
कहिले मातिएको हुन्छ रक्सीले
आइपुग्छ हल्लिँदैहल्लिँदै
कहिले उङेर बस्छ कक्षाकोठामा
कहिले हात हालेर जिस्किबस्छ
नेपाली मिससँग
विचित्रको छ यो हेडमास्टर
गाउन हुन्न कुनै सुरिलो गीत
बोल्न हुन्न आमनेसामने
बर्सिन्छ हेडमास्टरको कोर्रा
धेरै पढ्यो भने ज्ञानगुनका कुरा
किन पढिस् भन्छ
फुटाउन सकिएन भने अक्षर
किन पढिनस् भन्दै उफ्रिन्छ
भुस्सा भरिएको छ हेडमास्टरको हेडमा
थाहा छैन देशको क्षेत्रफल
थाहा छैन व्याकरणको नियम
थाहा छैन नैतिक शिक्षा
केवल घोक्न लगाउँछ राजामहारानीको नाम
केवल गाउन लगाउँछ हिमवत्खण्ड श्लोक
केवल सुनाउँछ इतिहासको मतिभ्रम काण्ड
खोसेर खाइदिन्छ विद्यार्थीको खाजा
लुस्छ विद्यार्थीको गिदी
दबाउँछ विद्यार्थीको मुटु
ठेकेदारजस्तो छ हेडमास्टर
पुँजीवादको चौकीदार
साहुकारको हल्कारा
मालिकको निम्छरो खुट्टा
नेताको जन्मोत्सवमा फूलको गुच्छा बोकेर
पुग्छ लाइन बस्न
र प्रदक्षिणा गर्छ धनुष्टङ्कार निहुरेर
पुतली होइन
विद्यार्थीलाई बनाइराख्छ झुसिल्किरा
काट्छ चराको पखेँटा र रमाउँछ
उसकै हातको कला हुन् लुटाहा र बलात्कारी
उसैका उत्पादन हुन् हुतिहाराको जमात
कहिले बस्ने हो बिदामा
कहिले हुने होे रिटायर्ड
र छाउने हो मङ्गल
हेडमास्टरलाई पुच्छर हाल्न चाहन्छन् विद्यार्थी
हेडमास्टरको टुप्पीमा
पिङ खेल्न चाहन्छन् विद्यार्थी
ठीक उस्तै छ
हाम्रो देशको हेडमास्टर
जसले बनाइरहेछ देशलाई कबाडखाना
निर्दयताको पराकाष्ठा हो यो हेडमास्टर।
संसद्भित्र
गरमागरम बहस छोडेर
माननीयहरू संसद्भित्रै हेर्दै छन् मोबाइलमा
नीलो सिनेमा
संसद्को भित्तामा जडित ठूलो स्क्रिनमा
भोकमरीका कारुणिक दृश्यहरू होइनन्
देखिएकी छ एउटा नग्न युवती
कामुक मुद्रामा
र, बहस सुरु भएको छ संसद्भित्र
त्यस युवतीको शरीरको साइज कति होला ?
३६×३१×३६
बहसका लागि बाँकी छैनन् कुनै विषय
संविधान छँदै छ टुकुचाजस्तो
किनारामा दुर्गन्ध फैलाउँदै बगिरहने
हिनहिनाउन थालिसक्यो संघीयताको देखाउने दाँत
बढ्दै गइरहेछ सत्ताको बहिरोपन
निर्णय गर्नु छैन विकास योजनाको बारेमा
ती थन्किएका छन् वर्षाैंदेखि
लिखित भइसके सबै काम, कर्तव्य र अधिकार
तर, उच्च तहमै छन् कानुनलाई घाममा सुकाउनेहरू
कोही तयार छैनन् आफैँलाई कारबाही गर्न
वनजङ्गल, जमिन, नदी सबै प्राकृतिक स्रोतहरू
धमाधम दर्ता हुँदै छन् व्यक्तिका नाममा
हलुका भएको छ राज्यको बोझ
त्यसो त विभिन्न राष्ट्रका दूतहरू छँदै छन् एकदम सक्रिय
सरकारका भरपर्दा सल्लाहकारहरू
चामलमा कति कर थप्ने वा कति छुट दिने ?
निर्णय गर्न जरुरत छैन संसद्ले
बस्, थप्नु छ आफ्नै सुख–सुविधा वृद्धि गर्ने
केही नयाँ दफाहरू
र भरमग्दुर उपयोग गर्नुछ नयाँ–नयाँ प्रविधि
संसद्को ठूलो स्क्रिनमा
प्रकट भएपछि एउटी नग्न युवती
सुरु भएको छ बहस
त्यस युवतीको शरीरको साइजको बारेमा
रुलिङ गर्दै सभामुख महोदय
बोल्न दिइरहेका छन् सांसद्लाई पालैपालो
र सांसद्हरू आफ्ना अनुभवमिश्रित मन्तव्यमा
उदाहरणसहित अनुमान लगाइरहेछन्
त्यस युवतीको साइज कति होला ?
३६×३१×३६
र, तपसिलमा राखिएका छन् सम्पूर्ण राष्ट्रिय मुद्दाहरू।