धनुषाको सात वडामा कांग्रेस विजयी

राम्रो अनलाइन     ०२ जेठ २०७९, सोमबार
धनुषाको सात वडामा कांग्रेस विजयी


जनकपुर–धनुषाको बिभिन्न पालिकाका ११  वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी) ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । 
 
कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ । 

एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गरेका छन् । 

यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका  बिहारी महतो एक हजार १२९ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याउनुभएको छ । 

धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७६५ मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६५८ मत प्राप्त गरे । धनुषाको मिथिला –२मा  एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । 

उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका मनोजकुमार सिंहले ९९३ मत प्राप्त गरे । धनुषाधाम १ को वडाध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६०८ मतका साथ विजयी भए । धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा  कांग्रेसका रामसोभित दाहा विजयी भए ।

धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी  एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए । 

धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५६५ मत प्राप्त गरेको जनाएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित भएका छन् । 

उनले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । 

 स्वतन्त्र उम्मेदवारको अग्रता 
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिइरहेका छन् । 

उनले दुई हजार ६३६ मतका साथ अग्रता कायम राखेको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले एक हजार ४९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । 

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६६२ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ४०३ तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साहले ३४२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

कूल २५  वडा रहेको उपमहानगरपालिको वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ४ को गणना जारी रहेको मुख्य निर्वाचन उनले बताए । 

प्रतिक्रिया