अस्ताए प्रख्यात लेखक तथा समालोचक शर्मा

राम्रो अनलाइन     ०३ फागुन २०७८, मङ्गलबार
अस्ताए प्रख्यात लेखक तथा समालोचक शर्मा

 

इलाम– ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको मंगलबार बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छोड्नुभएका अमूल्य कृतिहरुले भने उनलाई अमर राख्नेछन् । 

इलाममा जन्मिएका उनको कर्मथलो भने काठमाडौँ थियो । मंगलबार काठमाडौँस्थित उनको आफ्नै निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखनमा रमाउने शर्मा अस्वस्थताका कारण पछिल्लो डेढ वर्षयता भने साहित्य लेखनमा सक्रिय थिएनन् । उनमा पछिल्लो समय बिर्सने समस्या देखिएको थियो ।  

प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ गते निर्जला एकादशीका दिन भएको थियो । पिता प्रजापति उपाध्याय र माता देवकीको जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मिएका उनको पठनपाठन संस्कृत शिक्षाबाट सुरु भएको हो । 

अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित भएका थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो भने ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाउन सफल भएको थियो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए । 

डा शर्माले निबन्धबाट लेखन यात्रा सुरु गरेका थिए । उनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध छापेका थिए । उनले अध्ययनकै सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका थिए ।  ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका उनका प्रकाशितमध्येको अन्तिम कृति ‘चरी भरर’ निबन्ध संग्रह  हो ।  

उनको थर भने भण्डारी हो । उनी  भारत बसेकै बेला भण्डारी थर लेख्न छोडेर शर्मा लेख्न थालेका थिए । तारानाथ शर्माले कविता पनि लेखेका छन् । उनका कविता भने थोरै मात्र छन् । बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थालेका थिए ।

सो अभियान अहिले नेपाली साहित्यका क्षेत्रमा चर्चित पनि छ । नौलो पाइलो नामक पत्रिका प्रकाशन सुरु गरेका शर्माले झर्रोवादबारे विभिन्न पत्रिकामा लेखसमेत लेखेका छन् ।  

उनको अभियानलाई नेपाली भाषा र साहित्य लेखन क्षेत्रका धेरैले साथ दिएका थिए । उनले एकताका शर्माको सट्टा सर्मा लेख्ने गर्थे जुन झर्रोवादमा नै पर्ने उनको तर्क थियो । बनारसमा पढ्दा उनलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेर शर्मा लेख्न थालेको उनी  बताउँथे । थर फेरेर घर पुग्दा बुबाले गुनासो गरेका थिए । एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणः’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुबाको चित्त बुझाएको पनि उनी बताउँथे । 

तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छाप्थे । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको सो पुस्तक चर्चित पनि छ । दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरु’ भन्ने समालोचना सङ्ग्रह निस्किएको थियो । उनको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह, २०२० सालमा र गुरूप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्र्रह, २०२१ सालमा प्रकाशन भएको थियो ।  

भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका थिए । त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमा थिएन भनिएको छ । बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भनेका थिए । पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध सङ्ग्र्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिएको बताइएको छ ।

उनले भारत, चीन, जापान, बेलायत, अमेरिका, भूटान, पाकिस्तान, थाइल्यान्ड, लेबनान, टर्की, जर्मनी, इटाली लगायतका देशको भ्रमण गरेका थिए । 

प्रतिक्रिया