आज प्रणय दिवस : पढ्नुस् पाँच प्रेम कविता

राम्रो अनलाइन     ०१ फागुन २०७८, आइतबार
आज प्रणय दिवस : पढ्नुस् पाँच प्रेम कविता

प्रेमवर्ष

भूपाल राई 

तिमीलाई सम्झेपछि 
मैले गुलाबको फूल च्यातेँ
फूल च्यातेँ र
ढोकाको सानो प्वालबाट चियाएँ 
भित्र कुनै बन्दी रोइरहेको थियो ।

गुलाबका पत्रहरूले छरिँदै भने— 
‘केही हजार वर्षअगाडि 
कुनै एउटा फूलप्रेमीले
यसरी नै एउटा फूल च्यातेको थियो 
यही ठाउँमा, यही बेला, यसरी नै 
मेरो हत्या भएको थियो...’

‘...नङमा जमेको रगतको बाँकी टाटा 
हत्याको अतिरिक्त पुष्टि थियो
भीड थियो
न्यायाधीश र पुलिसहरू थिए
गुलाबका पत्रहरूमा अपराधी थुनिएको थियो 
त्यही ठाउँमा, त्यही बेला, त्यसरी नै
केही हजार वर्षपछाडि
मलाई फेरि मेरो प्रेमीले सम्झ्यो...’ 
 
तिमीलाई सम्झेपछि
फेरि मैले गुलाबको फूल च्यातेँ 
भित्र कुनै बन्दी बाँचिरहेको थियो 
उस्तै काँट, उस्तै बान्की 
उस्तै आँखा
बन्दीका रूपमा त्यहाँ अरू कोही थिएन 
म आफैँ रोइरहेको थिएँ
त्यो बन्दी म थिएँ । 
 


बिहे

दिनेश अधिकारी


बिहे गरेको भोलि पल्ट 
हामी एउटा पैदल यात्रामा थियौँ

कहाँ के भयो ?
एकाएक आकाश धुम्मियो
एकाएक मेघ गर्जियो
र, झमझम पानी पर्न सुरु भयो
ओत लाग्न
छेउछाउमा कुनै उपाय थिएन
र, हामीसँग एउटै मात्र सानो छाता थियो
ऊ नभिजोस् भनेर
घरी–घरी मैले ऊतिर छाता ढल्काइरहेँ
मायाले, उसले पनि मैतिर छाता ढल्काइरही
पानी थामिएपछि
पालैपालो
एक पटक मैले उसलाई हेरेँ
एक पटक उसले पनि मतिर आँखा ओछ्याई
यतिञ्जेलसम्म–
न मै नभिजेको थिएँ
न ऊ ओभानो बचेकी थिई
सट्टामा–
हामी दुवै पानीले निथु्रुक्क रुझेका थियौँ !

बिहे गरेको भोलि पल्ट
हामी एउटा पैदल यात्रामा थियौंँ ! 


प्रेमपत्र 
विक्रम सुब्बा

मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायाधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी
गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !

नेता, केटीहरूलाई वेश्यालय पठाइरहेछ
बाबु, छोरालाई दर्बानालय पठाइरहेछ
सरकार, युवक बेच्ने–किन्ने
सम्झौता नवीकरण गर्न प्रतिनिधि पठाइरहेछ
छोरो, अस्पतालमा पु¥याएकै दिन 
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र पठाइरहेछु !

सपना, एउटा नौलो मानिस पर्खिरहेछ
छोरीको यौवन बलात्कार पर्खिरहेछ
सबै किसिमका नदीहरूमा
एकैचोटि आउने बाढी देशले पर्खिरहेछ
मसानघाट, प्रजातन्त्रको लाश पर्खिरहेछ
एउटा म छु एकान्त कुनामा
तिम्रो प्रेमपत्र पर्खिरहेछु !

पुरस्कृत सफल भ्रष्टाचारी प्रशंसापत्र चुमिरहेछ
सम्मानित स्मगलर अभिनन्दनपत्र चुमिरहेछ
हाकिमको पाउ चुमिरहेछ जागिरे
चुमिरहेछ बन्दुकले मानिसको छाती
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र चुमिरहेछु !

धूर्तताको बाइबल पढिरहेछ पादरी
मौलवी जल्लादहरुसँगै कुरान पढिरहेछ
सुनको धम्मपद पढिरहेछ लामा
ब्राह्मण पढिरहेछ षडयन्त्रको गीता
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र पढिरहेछु ! 


मायालु...!
सीमा आभास

मेरो आँगनमा
उसले घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धुन पठायो । 
म मौन बसेपछि
छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर । 

ऊ फर्किएपछि
मैले उसलाई घाम पठाउन सकिनँ
शीत पठाउन सकिनँ
खामभित्र चराको गीत पठाउन सकिनँ । 

उसले साँचेको हुन सक्छ
मेरो लागि–
मीठो, नमीठो सम्झना गहिराइ
बेनिन्द्रा मुस्काउने एकान्त
बग्दो हावामा अल्झिएको समर्पण
फूलको शीत,
शीतको गहिराइमा डुबेको नदीफूल
हृदयमा लुकाएको तस्बिर
थोपा–थोपा पीडा
छुट्नुअघिको सम्झना स्पर्श
सेता फूलमुनि ओझेल परेको छायाँ 
मेरो लागि रोपेको हुँदो हो उसले
फूलमा ओर्लने बिहान
जलकुम्भीमुनि लुक्ने आँशु तलाउ
गहिरो आकाशमा उड्ने नीला याद
पलपल आगोमा डुब्दै गरेको आश
चुल्ठोभरि छरिएको सुदूर सम्झना 

सपनामा बर्बराउँदै भन्दो हो–
हावा लागेको रूखको पातमा
पछ्यौरी बनेर फरफराउने
माया सलाम तिमीलाई...! 
मायालु...! 
आगोमा उभिएको आँधीसलाम तिमीलाई...! 
हाँस्न नसकेको आँशुसलाम तिमीलाई...! 
तिमीले नदिएको घामसलाम तिमीलाई...! 


प्रेमपर्व 
श्रवण मुकारुङ 

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू 
आँखाभरि थापेर
आकाशगंगालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ

बारीको डिलैडिल उफ्रिहिँडेँ मृगझैँ
माथिका यी अँध्यारा पर्वतहरू
तलको त्यो रेलको रित्तो बाटो, नुनिलो आभास...
जम्मै बिर्सिएँ मैले !

मान्छेहरूले वर्षाैंदेखि पुज्न छाडेको त्यो निरीह मन्दिरलाई
मान्छेहरूले वर्षौंदेखि फर्किनहेरेको त्यो नियास्रो द्यौरालीलाई
स्वर्गको लालसामा फेरि
ढोगेँ मैले ।

हजुर आउनुहोला भनेर
अनिदा यी सपनाका चरा 
र, छुङछुङती नाचिरहेको हातका चुराहरू
मनभित्र त्यसै–त्यसै पोको पारिराखेको 
सरमलाग्दा के–के, के–के कुराहरू
यी घरका आशातीत झ्याल–ढोकाहरूलाई
सुम्पिएँ मैले ।
 
लौ हजुर त झन्–झन् अकासिँदै...?

प्रेम भनेको दृष्टिको अनन्तता पो रहेछ
स्वर्ग भनेको हृदयको उचाइ पो रहेछ
ईश्वर भनेको आफ्नो सबभन्दा प्यारो वस्तु पो रहेछ
वर्षाैंदेखि बज्न नपाएका 
यी कुण्ठित घण्टहरूलाई बेस्कन बजाउँदै चिच्याएँ म–

ए हिँड्दाहिँड्दै निख्रिजाने उकाली–ओराली !
ए बस्दाबस्दै थकाइ मेटिजाने चप्लेटी !
कलिला छाँगा, रूपौला रात
र छुनछुनाउँदा चियाका पातहरू !

कसले भन्छः यी बतासका झोक्काहरू 
हाम्रा प्रेमचिह्नहरू होइनन्
कसले भन्छः यी दहमा खसेका पातहरू 
हाम्रा प्रेमपत्रहरू होइनन् 
साँघुरो भो मलाई झरीका हारीहरू 
साँघुरो भो मलाई सम्झनाका घारीहरू

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू 
आँखाभरि थापेर
आकाशगंगालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ ।

प्रतिक्रिया