‘जिम नगरेको दिन खल्लो हुन्छ’ 

कुबेर डंगोल     १६ साउन २०७८, शनिबार
‘जिम नगरेको दिन खल्लो हुन्छ’ 

लामो कपाल, मोटो शरीर, भद्दा संवाद वर्षौंसम्म नेपाली सिनेमाले देखाउँदै आएको भिलेनको सालाखाला स्वरूप थियो । सुनील थापा, दीपक क्षत्री, सुशील पोखरेल आदि भिलेनले नेपाली फिल्मका खलचरित्रलाई यसरी नै जीवन्त बनाए । तर, आजभोलि भिलनेका लागि पनि हिरोजस्तै लुक्स भएका खलनायक निर्माता–निर्देशकको रोजाइमा पर्न थालेका छन् । यसको उत्तम उदाहरण हुन्, प्रशान्त ताम्राकार । ‘टाटा बाई बाई’, ‘मुखौटा’ र ‘सम्बोधन’मा काम गरेका प्रशान्तलाई ‘ऐश्वर्य’ले रातारात चर्चामा ल्याइदियो । कुनै समय फेसन मोडलिङका पर्याय उनले हलिउड फिल्म ‘लिटिल बुद्ध’ मा पनि अभिनय गरेका थिए । 


खेलकुदले फिट

जिम जान थालेको आठदश वर्ष भयो । तर, फिटनेसको सवालमा म पहिलादेखि नै सचेत थिएँ । सानोमा भलिबल, बास्केट बल, टेबल टेनिस आदि खेल्थेँ । निरन्तर गेम खेलेपछि पनि फिटनेसको समस्या हुन्न । मोडलिङमा लाग्दा मलाई यही कारणले फाइदा भयो । जिमै नगरे पनि फिट थिएँ । 
फिटनेस जुनसुकै फिल्डका लागि नभइ नहुने कुरा हो । स्वस्थ शरीर र स्वच्छ विचार सबैलाई चाहिन्छ । तर, हाम्रो प्रोफेसनमा यो दुवै कुरा झन् धेरै चाहिन्छ । किनकि, ग्ल्यामर क्षेत्रको मानिसलाई सबैले आइडल पर्सनका रूपमा हेरेका हुन्छन् । 

आवश्यकताअनुसार जिम

पहिला–पहिला रहरले जिम गरिन्थ्यो । शरीर बनाउने लोभले गरिन्थ्यो तर आजभोलि आवश्यकताले गरिन्छ । फिल्ममा काम गर्ने भएकाले भूमिकाको आवश्यकताअनुसार गर्छु । कहिले मोटाउनुपर्छ, कहिले दुब्लाउनुपर्छ । मलाई अबको फिल्ममा टोन्ड बडी चाहिएको छ । त्यसका लागि छसात महिनादेखि काम गरिरहेको छु । धेरैलाई जिम भन्नेबित्तिकै बल्की बनाउनुपर्छ भन्ने छ । तर, मेरो विचारमा जिम टोनमा बस्नलाई हो ।

सामान्यतया ट्रेडमिलमा कुदेर जिम सुरु गर्छु र आवश्यकताअनुसार कार्डियो, वेट लिफ्टिङ आदि गर्दै चाहिएको कुरामा फोकस गर्छु । मलाई लोअर ब्याक र लेग गर्न चाहिँ गाह्रो हुन्छ । नसामा समस्या आएकाले गाह्रो लाग्ने गरेको हो । बिहान ७ बजेबाट १० बजेसम्म जिम गर्छु । कहिलेकाहीँ बेलुकी पनि गर्छु । जिम अनुकूल समयमा गर्दा हुन्छ तर निरन्तर गर्न जरुरी छ । जिमको विशेषता के हो भने सुरुमा अलि गाह्रो लाग्छ । तर, जब बानी पर्छ, छोड्न मन लाग्दैन । जिम एडिक्सन हो । आजभोलि काठमाडौँ छाडेर गइयो भने पहिलो ध्यान जिममै हुन्छ । जिमको सुविधा छ कि छैन भन्ने कुरा सोधिहाल्छु । छैन भने सामान्य पुसअप र स्किपिङ गर्छु । कहिलेकाहीँ चाहिँ लाइट र ट्रलीका सामान उठाएर पनि धीत मार्छु । जिम नगरेको दिन खल्लो हुन्छ । 

पिज्जा मिस गर्छु 

जिममा खानाको ठूलो भूमिका हुन्छ । त्यसैले जिम गर्नेले नियन्त्रणमा बस्नुपर्छ । खाना जथाभावी खायो भने समस्या हुन्छ । जिमरले हेल्दी खाना खानुपर्छ । मैले जिम गर्दा महिनामा ४०–५० हजार खानामा खर्च हुन्छ । दिनको ५ देखि ८ सय रुपैयाँ खानामा मात्र जान्छ । प्रोटिन पनि जोड्ने हो १५ सय जति पर्छ । अरू बेला एउटा–दुइटा अण्डा खाँदा हुन्छ भने जिम गरेको बेला १०÷१५ वटा चाहिन्छ । खर्च स्वतः दोब्बर हुन्छ । जिम गर्दा निश्चित खाने कुरा बार्नुपर्छ । राइस, आलु र चिल्लो–पिरो भएका खाना खाएर जिम गर्ने हो भने त्यसको केही असर हुन्न । सुरुसुरुमा यस्ता खाना खूब मिस हुन्थे । आजभोलि त्यस्तो हुन्न । ड्रिंक्स पनि कहिलेकाहीँ मात्र गर्छु । जिमले मलाई खानपानमा अनुशासित बनाएको छ । 

भात खान छोडेको धेरै भइसक्यो । पिज्जा खान मन पथ्र्यो, त्यो पनि छुट्यो । पिज्जा खूब मिस गर्छु । तर, सबै खानाको ‘चिटिङ डे’ हुन सक्छ । हप्तामा एकचोटि खान सकिन्छ । नेवारी खाना पनि कहिलेकाहीँ मात्र खाने गरेको छु । कटिङको समयमा चाहिँ उमालेका खाना खानैपर्छ । तौल बढाउनु छ भने जे खाए पनि भयो । तर, फ्याटी चिज खानु भएन । सामान्यतया मैले दुइटा रोटी र उसिनेको चिकेन खाने गरेको छु । डाइट कन्ट्रोल छ भने एक दुई दिन जिम नगर्दा पनि फरक पर्दैन तर छैन भने चाहिँ जिम गरेको केही फाइदा हुन्न । 
 

प्रतिक्रिया