‘असलजति सबै अविजित हुन्’ 

राम्रो अनलाइन     ०६ असार २०७८, आइतबार
‘असलजति सबै अविजित हुन्’ 

 ‘हर रात सपनीमा’ जस्तो लोकप्रिय गीतका गीतकार विप्लव प्रतीकको पहिलो उपन्यास हो ‘अविजित’ । उनको ‘नहारेको मान्छे’ कवितासंग्रह प्रकाशित छ । ‘अविजित’मा उनले आफू हिँडेका जीवनका अँध्यारा–उज्याला गल्लीमाथि लेखेका छन् । कम्युनिस्ट राजनीति गर्ने पितामाथि लेखिएको उपन्यासको केन्द्रमा रहेर प्रतीकसँग गरिएको संवाद ।  


कविता लेखिरहेको, कवितामा जमिरहेको तपाईंजस्तो कविलाई किन आख्यान लेख्ने आवश्यकता  पर्‍यो  ?

सम्भवतः मलाई केही भन्नु थियो । गीत र कवितामार्फत त्यस कुरालाई अभिव्यक्त गर्न कठिन थियो सायद । सके त्यसैले म उपन्यास लेखनको मार्गमा जानी–नजानी हिडेँ । 

‘अविजित’को रचना–प्रसवबारे केही बताउनुहोस् न । 

म त्यतिखेर अमेरिकामा थिएँ । मनग्गे फुर्सद थियो । मेरो काम भनेको रेल, बस, कार र अठारपांग्रे ट्रक चढेर अमेरिका दर्शन गर्दै हिँड्ने थियो । अमेरिका बसाइमा पुस्तकले आकार लिन थाल्यो । सन् २००९ मा सुरु भएर सन् २०१३ मा सिद्धियो ‘अविजित’ । एक दिन अचानक मनमा कुरा खेल्यो, बाको कथा लेख्छु । त्यसपछि फर्केर हेरिनँ, बस् लेखिरहेँ । लेख्ने क्रममा कहिले दिनको आठ घण्टा लेखेँ, कहिले दुई घण्टा त कहिले भने महिनौँसम्म केही लेखिनँ । 

‘अविजित’ विमोचनमा तपाईंले भन्नुभएको थियो, ‘मलाई मेरो किशोरवयमा खतरै कवि हुँ जस्तो लाग्थ्यो । एक दशक लेख्ने अभ्यासपछि त्यो भ्रम टुट्यो । गद्य मेरो विधा हो भन्ने कहिल्यै लागेन ।’ आफ्नो विधा लागेन भन्दाभन्दै पनि गद्य लेख्नुभो त ? अनि अहिले आफूलाई ‘खतरा’ कवि सोच्नुहुन्न ? त्यसोभए अहिले लेखिरहेका ‘खतरा’ कवि को हुन् ?

– मलाई म कवि हुँ भन्दा पनि कविताको साधना गर्ने मान्छे हुँ जस्तो लाग्छ । मनका मैला र आत्मामा लागेका ‘टक्सिन’हरू पखाल्ने काम मेरो पहिलो हो जस्तो लाग्छ । कागजका पन्नामा लेखेर पत्रिकामा छपाएर प्रसिद्ध हुने दौड होइन कविता । कविता मनको शुद्धीकरण हो, विष पिएर अमृत पेश गर्ने कला हो । यस्तो गर्दा गर्दै कतिखेर कसरी लहसिन पुगेछु गद्यसँग, थाहै भएन । 

जतिखेर कविता लेख्ने अभ्यास चल्दैथियो, त्यतिखेर आफूलाई खतरा कवि लाग्थ्यो, अहिले के लाग्छ माथि भनिसकेँ मैले । अहिलेका खतरा कविहरू तिनै हुन्, जसले आफूलाई खतरा कवि मान्दैनन् वा ठान्दैनन् । त्यस्ता विनीतहरू वर्तमान समयका सशक्त कवि हुन् ।  

‘अविजित’को कथा काठमाडौँकै सेरोफेरोमा छ । उपन्यासको पात्र अविजित राजनीतिक रूपले सचेत छ । तर, ऊ जीवनमा कहिल्यै सफल हुँदैन । अविजित तपाईं आफैँ हो वा तपाईंका पिताजी ? 

भौतिक रूपमा सफल मान्छे असल हुन्छ भन्ने हुँदैन, तर असल मान्छे कुनै बेला भौतिक रूपमा सफल पनि हुन सक्छ । त्यसैले सफल होइन असल बन्नुपर्छ भन्ने मेरो जीवनदर्शन हो । जो असल छन्, ती सब अविजित हुन् । उपन्यास ‘अविजित’को कुरा गर्ने हो भने चाहिँ त्यसमा कहीँ केही मेरा बा हुनुहुन्छ, कहीँ केही म छु र बाँकी कल्पना छन् । 

धर्मभक्त माथेमालाई राणाहरूले रूखमा झुण्ड्याएको दृश्य देखेको मुख्य पात्र अविजित २०४६ सालसम्म एउटा आर्दश लिएर राजनीतिमा लागिरहन्छ । तपाईंले पिताजीबाट सुनेका राजनीतिक किस्सालाई उपन्यासमा निकै प्रयोग गर्नुभएको लाग्छ । पिताजीको जीवनमार्ग र दर्शन कस्तो थियो ?

– मेरा बा कसैलाई पनि चित्त नदुखाउने, आफ्नो राजनीतिक आस्थामा अडिग, आफू अप्ठ्यारोमा हुँदा पनि अरूलाई सहयोग गर्न अघि सर्ने, परिवारभन्दा समाजलाई प्राथमिकतामा राख्ने नम्बरी नास्तिक हुनुहुन्थ्यो । साथीहरूका लागि मरिमेट्ने उहाँको बानी थियो, साथीहरूलाई ख्वाउन पाउँदा खूब दंग पर्नुहुन्थ्यो । जीवनभर सबैले उहाँलाई उपभोग गरिरहे, तर उहाँलाई त्यसबारे कुनै चासो थिएन, गुनासो थिएन । 

‘अविजित’ महिलाको सम्बन्धमा असफल लाग्छ । उपन्यासमा तीन महिलाको उपस्थिति गाढा देखिन्छ र तीनै जनाले घर छोडेर गएको कथा छ । ती तीन जना महिला तपाईंले देखेका वा संगत गरेका महिला हुन् ?

– सम्बन्ध टुटे असफल र जोडिइरहे सफल भन्ने कुरालाई म मान्दिनँ । मलाई यो सत्य हो जस्तो पनि लाग्दैन । जब कसैसँग कुनै सम्बन्ध रहन्छ, त्यतिखेर त्यो सम्बन्धलाई सेलब्रेट गरियो कि गरिएन भन्ने कुरा महत्वपूर्ण हो मेरा लागि ।

उपन्यासमा उपस्थित ती महिला वास्तविक पात्र हुन्, दुई मैले देखेको र एक मैले संगत गरेको । तिनको चरित्रलाई मैले बुट्टा भरेको छु, सिलसिलालाई मेरो नजरबाट रोचक बनाउन । तर, उपन्यासमा आएपछि ती चरित्रलाई काल्पनिक मानिदिन म अनुरोध गर्छु । ‘फिक्सन’मा ‘फ्याक्ट’ खोज्न थाल्यो भने त्यसले स्वादलाई खल्लो पार्छ कि भन्ने मेरो अनुमान छ । अनि, अविजितलाई छाडेर जाँदैमा तिनीहरू खराब होइनन्, तिनीहरू त हामीजस्तै नियतिका पुतली मात्रै हुन् । 

आफ्नो टाइटलका रूपमा ‘प्रतीक’ मात्र लेख्नुहुन्छ, कुल\ थर लेख्नुहुन्न । यस पछाडिको कथा कस्तो छ ?

– म जन्मिएपछि विप्लव बाले दिनुभयो, र ८ कक्षामा पढ्दा प्रतीक मैले आफूलाई दिएँ । नागरिकतामा एउटा लेखनमा अर्को नाउँ मेरो छैन । र, मैले मेरो जात बिर्सिसकेको छु । मैले यो समाजसँग ठूलठूला कुरा केही मागेको छैन, मलाई मानव भएर र नेपाली भएर बाँच्न दिए म बडो आभारी र खुशी हुनेछु । मैले मेरा बाबाट विरासतमा पाएको चिन्तन हो यो । मेरो जातबारे कसैको मनमा खुलदुली नरहोस् भन्ने अनुरोध छ । 

‘एक्लोपन’ तपाईंको जीवन–छाया हो । कविता, लेख वा कुराकानीमा तपाईंको ‘एक्लो’ जिन्दगी पढ्न सकिन्छ । सधैँ एक्लो जिन्दगी घिसारिरहने ? 

– म कहिल्यै एक्लो महसुस गर्दिनँ, गर्नुपरेको छैन । भीडको कुरा छाडिदिउँ, एकान्तमा पनि म एक्लो छैन । म त एक्लोपनलाई सेलब्रेट गरिरहेको मान्छे हुँ । मलाई बिहान ब्युँझिँदा होस् वा राति कतैबाट फर्किएर कोठामा छिर्दा, कहिल्यै पनि  एक्लो छु भन्ने भाव आएको छैन । ठीकै छ त सबै म एक्लै हुँदा पनि । अनि यस्तो मजाको जीवन मैले घिसार्नु किन प¥यो ? म जहाँ जाऊँ, जिन्दगी लुरुलुरु पछ्याएर आइरहेछ । एक्लोपन मेरा निम्ति गुनासो होइन, एउटा कहिले नसिद्धिने उत्सव हो जिन्दगीको । यसले मेरो जीवनमा इन्द्रेणीको वर्षा गराइरहेछ निरन्तर र म नाचिरहेछु प्रत्येक पल । म सुखी छु कि छैन, न सवाल गर्छु न जवाफको खोजीमा छु । तर, एउटा कुरा पक्का हो– म खुशी छु । 

‘अविजित’को ‘स्टार्टिङ’ पृष्ठमा लेखिएको छ, ‘बाले आफ्नो कथासंग्रह दरबारकी केटी, मलाई र मेरा दौँतरीहरूलाई समर्पण गर्नुभएको थियो । मैले सम्झेसम्म उहाँले लेखेको यस्तो थियोः मेरो छ महिने छोरा विप्लव र उसका दौँतरीहरूलाई, जसको कलम शोषकहरूका विरुद्ध उठनेछ ।’ पिताजीको सपना कत्तिको पूरा भएको छ ? तपाईंले पिताजीको लेखन र उहाँबाट के सिक्नुभयो ? 

– मैले शोषकविरुद्ध त लेखिनँ होला, तर शोषणको विरोधबारे लेखेको छु, अन्यायीबारे लेखिनँ होला, तर अन्यायको विरोधमा लेखेको छु । मानिस होइन, उसले वरण गरेको चरित्र महत्वपूर्ण कुरा हो । गलत चरित्र भएको मानिस गलत होइन मेरा लागि । उसको चरित्र मात्र गलत हो । त्यसैले म व्यक्तिका पछाडि लागिनँ, व्यवस्थाका विरोधमा उभिएँ । नारा लेखिनँ होला, तर कविता लेखिरहेँ ।  समाज बदल्ने मेरो काम होइन, मानिसको मनलाई ‘ट्रान्सफर्म’ गर्नसम्म सक्ने हुँ कि ? हो त्यही गरेँ । यदि त्यो गर्न सकेको छैन भने पनि गुनासो छैन, किनभने मैले मलाई भने पक्कै ‘ट्रान्सफर्म’ गरेको छु, गर्नेछु र गरिरहनेछु । 
बाको लेखनले मलाई लेख्न प्रेरित गरेको निश्चय पनि हो । तर, उहाँको शैली वा सोच्ने तरिकाबाट म प्रभावित भएको छु कि छैन ? थाहा छैन । उहाँ भद्र हुनुहुन्थ्यो, सहयोगी हुनुहुन्थ्यो, विषम परिस्थितिमा पनि मुस्कुराउनुहुन्थ्यो । उहाँ हुनुहुन्थ्यो, म भने कोसिस गरिरहेछु ।  

कविता मात्र लेखिरहेको मानिस उपन्यासकार अवतारमा आउनुभो । कविता र गद्य लेख्नुमा के फरक हुँदोरहेछ ?

– कविता साहित्यको सबभन्दा शक्तिशाली विधा हो । मलाई पहिले थाहा थिएन । कविताको आराधना गर्दागर्दै भेउ पाएको हुँ । पाँच सय पृष्ठको उपन्यास छ हरफको गीत वा कवितामा अटाउँछ । म कविताको हुँ, कविता नै लेखिरहनेछु । यो आएको उपन्यास पनि एउटा लामो कविता हो, ‘फर्म’ मात्रै उपन्यास हो । जहाँसम्म पद्य र गद्यमा भएको भिन्नता बताउने हो भने त्यो चाहिँ प्रमुखतः ‘फर्म’ हो । अर्को भिन्नता भनेको कविता बेला–बेलामा सल्किने ज्वाला हो भने गद्य चाहिँ निरन्तर बलिरहने ज्वाला हो, जसले लेखन प्रक्रिया नसिद्धिउञ्जेल लेखकको धैर्यको अग्निपरीक्षा लिइरहन्छ ।

प्रतिक्रिया