आत्महत्याबारे केही भ्रम 

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक     ०१ असार २०७८, मङ्गलबार
आत्महत्याबारे केही भ्रम 

भ्रमः साँच्चै आत्महत्या गर्ने मानिसले त्यसबारे केही कुरा गर्दैनन् । 
यथार्थः हरेक प्रयासअगाडि व्यक्तिले कुनै न कुनै रूपमा कसै न कसैलाई यस्तो भाव व्यक्त गरेको हुन्छ । 
भ्रमः आत्महत्या गर्न दृढ संकल्प गरेकालाई कसैले रोकेर रोकिन्न । 
यथार्थः उचित ध्यान एवं उपचार पाएमा अधिकांश आत्महत्या प्रयास रोक्न सकिन्छ 
भ्रमः आत्महत्यासम्बन्धी सोधपुछ गर्दा व्यक्तिको आत्महत्या गर्ने सोच बढ्छ । 
यथार्थः वास्तवमा सोधपुछले रोकथामको बाटो खुलाउँछ । 

आत्महत्या प्रयास गर्न सक्नेका संकेत

–आत्महत्याबारे कुराकानी, इच्छा व्यक्त गर्नु 
–सधैँ मृत्युबारे सोचिरहनु वा कुराकानी गरिरहनु 
–आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु 
–‘म नजन्मेको भए राम्रो हुन्थ्यो’, ‘म मरेपछि तिमीहरू पछुताउलाऊ’, ‘अब कुनै उपाय नै छैन’ जस्ता वाक्य बोलिरहनु 
–असाध्यै दुःखी भइरहेको मान्छे अचानक शान्त वा खुशी हुनु 
–मृत्युको इच्छा राख्नु वा मृत्यु निम्त्याउनसक्ने खालका कार्य गरी अकारण जोखिम उठाउनु 
–पहिलेका अभिरुचिहरूमा चाख हराउनु
–आफन्त साथीभाइहरूसँग नबुझिँदो गरी बिदाइ वा माफी माग्नु 
–आफ्ना कामकाज, हिसाबकिताब विस्तारमा फस्र्यौट गर्नु
–मर्ने उपायबारे जानकारी खोज्नु 

आत्महत्या प्रयास गर्नेलाई के गर्ने, के नगर्ने ?

—कुनै पनि आत्महत्या प्रयासलाई चिकित्सकीय एवं मानसिक संकटकालीन घटनाका रूपमा लिनुपर्छ र तुरुन्त अस्पतालको इमर्जेन्सीमा लानुपर्छ । लाज, डर, संकोच मानेर वा हल्का घटना ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने ज्यान गुम्न सक्छ । 
—इमर्जेन्सीमा कुनै शारीरिक संकटको उपचारपछि तत्काल मानसिक रोग विशेषज्ञको परामर्श लिनुपर्छ । मानसिक रोग भए÷नभएको, फेरि आत्महत्या गर्न सक्ने सम्भावना भए÷नभएको निक्र्याेल गरी सकेसम्म अस्पताल भर्ना गरी उपचार गराउनुपर्छ । फेरि प्रयास गर्दा झन् खतरनाक उपाय अपनाउन सक्ने हुँदा अत्यन्त सावधानीपूर्वक बिरामीलाई निगरानीमा राख्नुपर्छ । 
—खतरनाक हातहतियार, जस्तो चक्कु, ब्लेड, डोरी तथा औषधि, विषादी आदि उसको पहुँचभन्दा टाढा राख्नुपर्छ । 
—विशेषज्ञको सल्लाहबमोजिम नियमित औषधि, मनोचिकित्सा आदि निगरानीमा गर्नुपर्छ । परिवार, आफन्त वा अन्यले पनि मद्दत गर्नुपर्छ । गालीगलौज गर्ने, लज्जित पार्ने वा सजाय दिएर सो व्यक्तिलार्य अझ वेदना दिने गर्नु हुँदैन । सुरक्षित एवं आत्मीय वातावरणमा आत्महत्या प्रयास गर्नेलाई उसको भावना व्यक्त गर्न दिनुपर्छ । 

आत्महत्याबाट  आफन्त गुमाएकालाई के गर्ने, के नगर्ने ? 

आफन्तजनले आत्महत्या गर्ला भनेर कमैले अपेक्षा गरेका हुन्छन् । अतः यो खबरले परिवारजनलाई अचानक छाँगोबाट खसेझैँ अनुभव गराउँछ । घटनाको प्रत्यक्षदर्शीलाई बारम्बार झझल्को आइरहने र कतिपयलाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ नै हुन सक्छ । प्राकृतिक मृत्युको तुलनामा यसमा उनीहरू निकै मानसिक यातना, पीडा, हीनताबोध, आत्मग्लानि, अविश्वास, अन्योल, शोक, डर, चिन्ता आदि अनेकौँ भावना उथलपुथल हुने गरी महसुस गर्छन् । आफन्तबाट आफूलाई किन विश्वास नगरेको, आत्मीय नसम्झेको, आफूले कहाँ गल्ती गरेँ, आखिर आत्महत्या किन गरे आदि बिझाउने प्रश्नहरूले निरन्तर पिरोलिरहन्छ । त्यसैले उनीहरूलाई पनि उचित परामर्श वा उपचारको खाँचो हुन्छ । सुरक्षित एवं आत्मीय वातावरणमा उनीहरूका भावना व्यक्त गर्न दिनुपर्छ । आत्महत्यासम्बन्धी सत्यतथ्य सूचनाहरू उपलब्ध गराउन र अन्य मानिसका प्रतिक्रिया बुझ्न, सामना गर्न मद्दत गनुपर्छ । 
(मनोचिकित्सक डा. रवि शाक्यसँगको कुराकानीमा आधारित) 
 

 

प्रतिक्रिया