शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ

राम्रो अनलाइन     २६ मंसिर २०८२, शुक्रबार
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ

गुल्मी– क्याम्पसको शैक्षिक विकासका लागि सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा रु तीन करोडभन्दा बढी नगद सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधाञ्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो । 

क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि रु तीन करोडको अक्षय कोष स्थापना गर्ने उद्देश्यले यही मङ्सिर १८ देखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद रु तीन करोड १५ लाख सङ्कलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिए । त्यसका अतिरिक्त महायज्ञमा ७०० मुरी धान र ३० क्विन्टल चामलसमेत सङ्कलन भएको संयोजक ढकालले बताए । 

महायज्ञमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती–५ रघेवा जन्मस्थान भई हाल बेलायत बस्दै आएका सफल व्यवसायी काशिराम भण्डारी हुन्छन् । उनले व्यक्तिगत रुपमा रु १६ लाख ५० हजार महायज्ञमा क्याम्पसका लागि सहयोग गरेका थिए । उनले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप रु एक लाख सहयोग गर्ने बताएका हुन् ।

त्यसैगरी, सत्यवती‐८ भार्से हाल हङकङ निवासी कुलबहादुर बूढाथोकीले रु १० लाख एक हजार, बेलायतमा रहनुहुने केशव ज्ञवालीको परिवारले रु १० लाख, स्थानीय लक्ष्मण भण्डारीले रु सात लाख र गोमबहादुर भुसालले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिए । 

विसं २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नुपरेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पिताम्बर ज्ञवालीले बताए । 

उनले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसैमार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिए ।महायज्ञमा नेपाल शन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो ।

प्रतिक्रिया