सिन्धुलीबाट फरार भएका ४७१ मध्ये २५४ कैदी कारागार फर्किए

राम्रो अनलाइन     ०१ असोज २०८२, बुधबार
सिन्धुलीबाट फरार भएका ४७१ मध्ये २५४ कैदी कारागार फर्किए

काठमाडौं– सिन्धुली कारागारबाट फरार भएका ४७१ कैदी मध्ये २५४ जना कैदी कारागार फर्किएका छन् ।

गत २५ गते आगजनी र तोडफोडपश्चात सिन्धुली कारागारबाट फरार भएका कैदीमध्ये २५४ जना फर्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

केही कैदीलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । सिन्धुली कारागारबाट फरार भएका मध्ये २ जना काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीका अनुसार फरार भएकामध्ये धेरैजसो आफैं उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याइएको जानकारी दिए । बाँकी कैदीहरूको खोजी कार्य अझै जारी छ ।

फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण भाग्न बाध्य भएको बताएका छन् । कारागार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरारलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको कारागार स्रोतले जनाएको छ ।

प्रतिक्रिया