लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छः सभामुख घिमिरे

राम्रो अनलाइन     १६ असार २०८२, सोमबार

काठमाडौँ– सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

पूर्वसांसद मञ्चले ६७ औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएकामा यसविरुद्ध पूर्वसांसदहरूको योगदान महत्त्वपूर्ण हुने बताए ।

संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती ल्याउन खोजिएकाले पूर्वसांसदलगायत सबै लोकतन्त्रवादी सचेत हुनुपर्नेमा उनले जोड दिए । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ‘थिङ्क ट्याङ्क’को उनले आवश्यकता औंल्याए । 

दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्दै उनले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरे ।  तीन महिनाअघि देखि नै बजेटका सिद्धान्त र प्राथमिकतामा विषयमा छलफल चलाउने गत वर्षदेखिको अभ्यास प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

संसद्ले प्रत्येक वर्ष आर्थिक विधेयक पारित गर्ने गरेको उल्लेख गर्दै सभामुख घिमिरेले यस्तो प्रक्रियाका बारेमा पनि बहस हुनुपर्ने बताए । वर्षे अधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनाइ पनि उनको थियो ।

प्रतिक्रिया