बेपत्ता महिला खोज्न कुकुरसहितको टोली परिचालन

राम्रो अनलाइन     १३ असार २०८२, शुक्रबार
बेपत्ता महिला खोज्न कुकुरसहितको टोली परिचालन

काठमाडौं– नुवाकोटको ककनीमा बाढीले बगाउँदा बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । उनका श्रीमान अशोक बलामी भने घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्धारका लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको उनले बताए । बाढीले सोही ठाउँमा रहेको ३ वटा गोठ समेत बगाउँदा केही पशुचौपाय समेत बगेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया