देउता वा देवीले दर्शन दिएको भनेको के हो ? कुनै भगवान्ले शशरीर दर्शन दिन्छन् ? कि कठोर साधनाबाट मान्छेभित्र खुशी, आनन्द र ऊर्जा उत्पन्न भएका हुन् ?
विभिन्न पौराणिक कथामा भगवान्ले दर्शन दिएको, अन्तरध्यान भएको वा वरदान दिएको जस्ता विषय सुन्दै आएका छौँ । नेपाली समाजमा चर्चित रहेको स्वस्थानी व्रतकथा, सत्यनारायण व्रतकथादेखि भजन, श्लोकलगायत धार्मिक र सांस्कृतिक अनुष्ठानमा यो दर्शन, अन्तरध्यान र वरदानको विषय जोडिएको छ ।
हजारौँ वर्ष तपस्या गरेर वरदान पाएको, तपस्या गर्दा शरीरमा धमिराले गुँड बनाएको लगायत सन्दर्भ वर्तमान पुस्तालाई अपत्यारिलो लाग्छ । जो धर्मप्रति अन्धभक्ति राख्छन्, उनीहरू यस्ता विषयमा थोरै पनि प्रश्न र शंका नगरी स्वीकार गर्छन् ।
यस्ता सन्दर्भ अन्धविश्वास वा कथा मात्रै हुन् ? यिनीहरूको कुनै उपादेयता वा महŒव छ ? वा यस्ता विषयलाई कसरी लिने ? यस विषयमा थोरै पनि बहस भएको पाइन्न । हामीले बाल्यकालबाटै स्वस्थानी सुन्दै आयौँ । स्वस्थानी सुन्दा वा व्रत बस्दा धर्म हुन्छ भन्ने अभिप्रायले अहिले पनि लाखाँै मानिस व्रत बसिरहेका हुन्छन् । घरघरमा यसको कथा भन्ने प्रचलन छ । यस्ता धार्मिक कथामा तपस्या, साधना वा व्रत बस्दा भगवान् खुशी भएर दर्शन दिएको र भक्तको मनोकांक्षा पूर्ण भएका सन्दर्भ छन् ।
तपस्याले भगवान् प्राप्ति
नेपालीको प्रमुख चाड मानिने बडादशैँका अधिकांश कथामा तपस्या, देवीको दर्शन र देवीले वरदान दिएका प्रसंग छन् । देवीले दानवलाई र रामले रावणलाई मारेको पौराणिक कथाका आधारमा हामीले दशैँ मनाएका हौँ भन्ने सुन्दै आएका छौँ । तर, हिमालयमा गएर कठोर व्रत बस्ने भनेको के हो ? प्रार्थना, स्तुति र तपस्याका कारण देवी खुशी भएर दर्शन दिएको भनेको के हो ? यस विषयमा हामी कहिल्यै घोत्लिएनौँ । कि ‘धर्म हुन्छ’ भन्ने नाममा सहर्ष स्विका¥यौँ, कि यी सब वाहियात भ्रम हुन् भन्दै दुत्का¥यौँ ।
‘देवता वा देवीले दर्शन दिएको’ भनेको के हो ? के कुनै भगवान्ले शशरीर दर्शन दिन्छन् ? के कुनै अदृश्य शक्ति उपस्थित भएर हाम्रो जीवनमा आमूल परिवर्तन सम्भव छ ? झट्ट हेर्दा यस्ता कथा वा सन्दर्भ वर्तमान समयका लागि निरर्थक प्रतीत हुन्छन् । यी सब सदियौँदेखि प्रचलनमा रहेको परम्पराको सिलसिला मात्र लाग्छ ।
हाम्रा धर्मशास्त्र र कतिपय अवस्थामा अध्यात्मले आफूलाई अभिव्यक्त गर्दा अधिकांश सन्दर्भमा विम्ब प्रयोग गरे । विम्ब र कथामार्फत आम मानिसले सहजै बुझून् भन्ने अभिप्रायले यसो गरिएको हो । तर, दुर्भाग्य, हामीले विम्ब र मिथकलाई ठम्याउन सकेनौँ । त्यसले भन्न खोजेको विषय र सन्दर्भबाट शिक्षा लिनुभन्दा पनि उक्त विषय बुझाउन प्रयोग गरिएको कथा र सन्दर्भमै अलमलियौँ । जसको परिणाम चुरो कुरो छुट्दै गयो र हामी बोक्रालाई नै सबथोक मान्दै गयौँ ।
बोक्रालाई सबथोक मान्ने वा ठान्ने अवस्था जब संस्कृतिको रूपमा हाम्रो लोकजीवनमा प्रस्तुत हुन थाल्यो, तत्पश्चात् रुढी र अन्धविश्वास सघन बने । परिणामतः हाम्रा धर्मशास्त्र र आध्यात्मिक अनुष्ठानसमेतलाई ‘पुरानो’, ‘सडेगलेको’ वा ‘रुढीवादी’ मान्यता तथा विचार भन्न वा मान्न वर्तमान पुस्ता बाध्य भयो ।
कुनै दानव, देव वा मनुष्यले कैयौँ वर्ष कठोर तपस्या गरेपछि उसले वरदान पाएको हामीले पुराणका कथामा सुनेका छौँ । के कुनै व्यक्ति कैयौँ दिनसम्म तपस्या गरेर बस्न सक्छ ? हामीलाई झट्ट सक्दैन जस्तो लाग्छ । तर, आधुनिक युगमा नै योग र ध्यानसँग सम्बन्धित रहेर गरिएका प्रयोग र अनुसन्धानमा थुप्रै साधुसन्तले कैयौँ दिनसम्म एउटै थलोमा ध्यान गरेको विषय प्रमाणित भएका छन् । वर्तमान समयमा पनि आफ्नो शरीरको हाडछाला मात्र बाँकी राखेर तप, ध्यान वा साधना गर्ने साधकहरू छन् ।
भगवान् प्राप्ति अवस्था हो
अहिले ध्यानको आवश्यकता र उपादेयतालाई आधुनिक विज्ञानले समेत स्विकारिसकेको छ । कम्तीमा पनि मानिसले अहिले झेलिरहेको तनावलाई व्यवस्थापन गर्न ध्यानको महŒवपूर्ण भूमिका हुन्छ भन्ने तथ्यप्रति अधिकांश खोज र अनुसन्धान सहमत हुन थालेका छन् । आधुनिक चिकित्सा विज्ञानका डाक्टरहरू पनि स्वस्थ रहन दिनमा थोरै समय निकालेर ध्यान गर्नुपर्छ भन्न थालेका छन् । ध्यानको उच्च अवस्थामा पुगेका व्यक्तिहरूले ध्यानस्थ अवस्थामा आफूलाई समय, काल र परिस्थितिको पत्तो नभएको, कति समय बित्यो, आफू कहाँ छु, आफ्नो सामाजिक अवस्थासमेत स्मृतिमा नरहेको, आफूलाई मस्ती वा आनन्द मात्र भएको अद्भुत अनुभव सुनाउने गरेका छन् । सामान्य मानिसलाई केही मिनेट वा घण्टा एकैथलोमा चुपचाप बस्न पनि मुश्किल पर्छ । तर, ध्यान घटित भइसकेपछि उही मान्छे घण्टौँघण्टा एकैथलोमा मौन बस्न सक्छ । हामीले पुराणमा सुनेको कथामा कैयौँ वर्षसम्म मानिस तपस्या गरेको भन्ने प्रसंगलाई ध्यानमा लागेपछिको मानिसको अवस्थासँग तुलना गर्न सक्छौँ । ध्यानको एउटा चरणमा पुगेपछि मानिस मस्ती र आनन्दमा पुग्छ । ऊ शारीरिक र मानसिक पीडाबाट मुक्त हुन्छ । पुराणका कथामा मानिस धमिराले गुँड बनाउञ्जेल बस्न सक्छ भनिएको विषयलाई विम्बात्मक रूपमा बुझ्न सकिन्छ । यहाँ कति वर्ष र महिनाभन्दा पनि मानिस खास मानसिक अवस्थामा पुगेपछि ऊ जति पनि चुपचाप बस्न सक्छ, शारीरिक र मानसिक पीडाबाट मुक्त हुन्छ भन्न खोजिएको हो ।
‘देवी वा देवताले दर्शन दिएको’ को अर्थ कुनै भगवान् तपस्यारत व्यक्तिको आँखाअगाडि आएको भन्न खोजिएको होइन । यो खास मानसिक अवस्था हो, कुनै बाह्य घटना होइन । शरीरमा आमूल परिवर्तन हुनु, खुशी, आनन्द र ऊर्जालाई परिचालित गर्ने ‘केमिकल’हरू ‘रिलिज’ हुनु र यो स्थायी बनिरहनुको अवस्थालाई नै भगवान्ले दर्शन दिएको भन्न खोजिएको हो ।
‘पिक पर्फर्मेन्स’
ओलम्पिकमा गोल्ड मेडल जित्ने वा सामान्य मानिसले गर्नै नसक्ने अद्भुत काम गर्ने केही व्यक्तिलाई लिएर अनुसन्धानकर्ताहरूले विभिन्न अनुसन्धान गरेका छन् । सम्बन्धित व्यक्तिले उक्त खेल, प्रतियोगिता वा प्रदर्शनमा सहभागी भएर सबैभन्दा उत्कृष्ट प्रदर्शन गरिहँदा उनीहरूको मस्तिष्कभित्र के कस्तो अवस्था गुज्रिन्छ भनेर एमआरआईको माध्यमले अनुसन्धान गरिएको थियो । उदाहरणका लागि, कुनै धावकले ओलम्पिकमा दौडँदा समय बिर्सन्छ, आफूलाई लागेको चोटमा समेत उसको ध्यान जाँदैन, भोक, निद्रा र प्यासमा समेत उसको ध्यान हुँदैन । यस्तो कसरी सम्भव हुन्छ भनेर गरिएको उक्त अनुसन्धानले अनौठो तथ्य बाहिर ल्याएको छ । जब मानिस ‘पिक पर्फर्मेन्स’ गरिरहेको हुन्छ, उक्त अवस्थामा उसको मस्तिष्कको ‘प्री–फ्रन्टल लोब’ वा ‘नियो कोर्टेक्स ब्रेन’ बन्द हुँदो रहेछ । निधारभन्दा माथि रहने नियो कोर्टेक्स ब्रेन मानिसमा सबैभन्दा पछाडि विकास भएको मस्तिष्कको भाग हो । यसकै कारण हामी अरू प्राणीभन्दा फरक हुन सकेका हौँ । यसकै कारण हामी विचार गर्छाैं । नियो कोर्टेक्स बन्द हुनु भनेको विचार बन्द हुनु हो । जब बुद्धि, विचार र तर्क बन्द हुन्छन्, तब मानिस अत्यन्त शक्तिशाली बन्न थाल्छ । उदाहरणका लागि, १० तला माथिबाट हाम्फाल्दा के–के हुने हो भनेर तर्क र विचार चल्न थालेपछि हाम्फाल्ने आँट आउँदैन । तर, त्यही बेला नियो कोर्टेक्स बन्द भइदियो भने हामी हाम्फाल्ने साहस जुटाउन सफल हुन्छौँ । यसरी नियो कोर्टेक्स बन्द हुने वा चुपचाप बस्ने प्रक्रियालाई मनोविज्ञानमा ‘ट्रान्जिएन्ट हाइपोफ्रन्ट्यालिटी’ भनिन्छ । यसको अर्थ केही क्षणका लागि हाम्रो अगाडिको मस्तिष्कले काम नगर्नु भन्ने बुझिन्छ ।
ट्रान्जिएन्ट हाइपोफ्रन्ट्यालिटीबाट गुज्रनका लागि हाम्रो मस्तिष्कमा डोपामाइन र नरइपिनेफ्राइन भन्ने रसायन निसृत हुनुपर्छ । डोपामाइनजस्ता रसायन सामान्य अवस्थामा रिलिज हुँदैनन् । सामान्य व्यायाम गर्दा वा दौडँदा इन्डोर्फिन्सजस्ता केमिकल रिलिज हुन्छन् भने अति नै दौडिएपछि मात्र डोपामाइन रिलिज हुन्छ । अर्थात्, दौडको असाध्यै कष्टसाध्य अवस्थामा पुगेपछि मात्र डोपामाइन निक्लिन्छ । सरल भाषामा भन्दा जब मानिस अत्यन्तै कष्टपूर्ण अवस्थाबाट गुज्रँदा पनि आफ्नो कर्म जारी राख्छ, तब उक्त कर्म आफैँ आनन्दमा परिणत हुन्छ । जसरी उच्चतम दौडले डोपामाइन रिलिज गराउँछ र दौडनुमै आनन्द प्राप्त हुन्छ ।
पौराणिक शास्त्रमा उल्लेख गरिएका कठोर तपस्या र उक्त तपस्याबाट भगवान् प्राप्ति भनेको निर्मम कष्टबाट आनन्दको प्राप्ति भन्न खोजिएको हो । ठूलो कष्टबाट निरन्तर नगुज्रीकन मान्छे ऊर्जावान् र आनन्दित बन्न सक्दैन ।
जब मानिस साधनाबाट ट्रान्जिएन्ट हाइपोफ्रन्ट्यालिटीको अवस्थामा प्राप्त हुन्छ, तब उसले आफूभित्रको असीमित ऊर्जा र सामथ्र्यको पत्तो पाउँछ । जसले गर्दा ऊ पहिलेभन्दा बढी शक्तिशाली बन्न पुग्छ । यसरी आफैँलाई साधनामा उतारेर प्राप्त हुने अवस्थालाई ‘विज्डम’ भनिन्छ भने अरूबाट प्राप्त हुने अवस्थालाई ज्ञान भनिन्छ । ज्ञान उधारो पैसा हो, जो अरूबाट लिएर केही समयका लागि काम चलाउन सकिन्छ । ‘विज्डम’ आफ्नै कमाइ हो, जो जीवनभर आफैँलाई काम लाग्छ ।
हामीले सिद्धार्थ गौतमले तपस्या गरेर ज्ञान पाएको भन्ने सुनेकै छौँ । यो सुन्दा अनौठो पनि लाग्छ । हामीले पनि विद्यालयदेखि विश्वविद्यालयसम्म पुगेर ज्ञानै हासिल गरेका छौँ । तर, हामी किन बुद्ध बन्न सक्दैनौँ त ? यसको स्पष्ट उत्तर हो, हामीले विद्यालयदेखि विश्वविद्यालयमा पढेर ‘नलेज’ पाएका हौँ भने सिद्धार्थले ‘विज्डम’ ।
विश्वप्रसिद्ध मनोवैज्ञानिक मिहाई चिक्सेन्टमिहाईले संसारमा चामत्कारिक रूपमा सफल हुने मानिसहरूको विषयमा ५० वर्ष अनुसन्धान गरेका थिए । उनले के निष्कर्ष निकालेका छन् भने कुनै पनि ‘एक्स्ट्रिम’ लक्ष्य राखियो भने त्यो निकै गाह्रो भएर मानिसलाई दिक्क लाग्छ र त्यसलाई बीचमै छाड्छ । त्यसै गरी, जति गर्न सक्ने हो, त्यति मात्रै गर्ने हो भने पनि मानिसलाई ‘मोनोटोनस’ हुन्छ । आफू ‘पिक पर्फर्मेन्स’सम्म पुग्नका लागि आफ्नो इच्छाको विषय छनोट गर्नुपर्छ । त्यसमा हरेक पटक आफूले गर्न सक्नेभन्दा चार प्रतिशत थप कार्य गर्ने कोसिस गर्नुपर्छ । यसो गरियो भने संसारको जो कोही मान्छे पनि पिक पर्फर्मेन्समा पुग्न सक्छ भन्ने मनोवैज्ञानिक चिक्सेन्टमिहाईको निष्कर्ष छ ।
गाह्रो भयो भनेर थालेको काम छाड्ने प्रवृत्तिले कहिल्यै पनि सफलता हासिल हुँदैन । संसारमा सफल भएका मानिसले ठूलो कष्ट बेहोरेर सफलता हात पारेका हुन् । जसरी हाम्रा शास्त्रमा कठोर तपस्याले देवता खुशी भएर भक्तले शक्तिशाली हुने वर पाएको कथाहरू छन्, त्यसै गरी हामीले पनि आफूलाई पिक पर्फर्मेन्ससम्म लैजान सक्यौँ भने हामी पनि अर्कै हुन्छौँ । हाम्रा ऊर्जा, सामथ्र्य र समझ अर्कै बन्न पुग्छन् । अर्थात्, हामी भगवान् प्राप्तिको अवस्थासम्म पुग्छौँ ।