सोमबार रातिदेखि २० बैशाखसम्म बाँकेमा लकडाउन 

राम्रो अनलाइन     १२ वैशाख २०७८, आइतबार
सोमबार रातिदेखि २० बैशाखसम्म बाँकेमा लकडाउन 

काठमाडौँ । कोभिड १९ संक्रमणको ‘हटस्पट बनेको बाँकेमा स्थानीय प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२० गते राति १२ बजेसम्म) लकडाउन गर्ने निर्णय गरेको छ । 

आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन् ।

गत वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको बाँकेमा जिल्लाभरि नै संक्रमणको दर बढेपछि प्रशासन सोमबारदे्खि जिल्लाभर लकडाउन गर्ने निर्णयमा पुगेको हो ।
अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ।

स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन्।

यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनहरू मात्रै गुड्नेछन्।

मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । बाँकेमा एम सातादेखि कोभिडको संक्रमण दर ह्वात्तै बढेको छ ।

प्रतिक्रिया