काठमाडौं – नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ।
२१ जना प्रहरी अधिकारीले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको हो। बुधबार २१ प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्। उनीहरूले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै हटाउन माग गरेका छन्।
२०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक ९असई०मा भर्ना भएका प्रहरी अधिकारीहरु भदौको अन्तिम साता अनिवार्य अवकाशमा जाँदैछन्।