विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम : गृहमन्त्री लेखक

राम्रो अनलाइन     ०२ साउन २०८१, बुधबार
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम : गृहमन्त्री लेखक


काठमाडौँ– गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन्। प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भने।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ ’ गृहमन्त्री लेखकले भने, ‘ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।’ उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन’ उनले भने, ‘नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो ।’ निष्पक्षता, पारदर्शीता र व्यावसायिकतामा कमी हुन नदिन निर्देशन समेत उनले दिए।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरहनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँ ।’ गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो ।

‘नेपाल प्रहरी इतिहास बोकेको गर्व गर्न लायक संस्था हो ।’ उनले भने, ‘कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्याय दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।’ सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने, ‘प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।’

उनले प्रहरीसम्बन्धी सबै कानुन समसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पु¥याउने गतिमा अघि बढ्नेमा जोड दिए । कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाञ्छित दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेका छन्’ उनले भने, ‘त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईँहरूलाई सम्झिन्छ ।’

सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए।

प्रतिक्रिया