नारायणगढ–गएरातिदेखि अविरल वर्षा कारण नारायणगढस्थित नारायणी नदीमा आएको बाढी । यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ ।
जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनीको तह नाघेको हो । नारायणी पुलमा जलसतह ११ दशमलव २६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८ दशमलव ५१ मिटर पुगेको छ । नारायणी पुलमा ११ मिटर र देवघाटमा ७ दशमलव ३ मिटर जलसतहलाई चेतावनी तह मानिन्छ ।