दक्षिण कोरियाको ब्याट्री कारखानामा भीषण आगलागी, विदेशीसहित २२ जनाको मृत्यु

राम्रो अनलाइन     १० असार २०८१, सोमबार
दक्षिण कोरियाको ब्याट्री कारखानामा भीषण आगलागी, विदेशीसहित २२ जनाको मृत्यु

 

काठमाडाैं–  दक्षिण कोरियाको एक ब्याट्री कारखानामा भीषण आगलागी हुँदा १८ जना चिनियाँ नागरिकसहित कम्तीमा २२ जना कामदारको मृत्यु भएको छ।

आगलागीमा परी थप ८ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्थानीय अग्निनियन्त्रण निकायलाई उदृत गर्दै बिबिसीले लेखेको छ।

राजधानी सोलबाट दक्षिणी सहर ह्वासङरस्थित एरिसेल कम्पनीको कारखानामा सोमबार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथिअम ब्याट्री उत्पादन हुँदै आएको छ।

सोलस्थित नेपाली दूतावासले उक्त घटनामा नेपाली परेको जानकारी अहिलेसम्म प्राप्त नभएको जनाएको छ।

स्थानीय टेलिभिजनमा प्रसारित एउटा दृश्यमा अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गर्दा स-साना विस्फोटन भएको देखिन्छ।

दक्षिण कोरियालाई लिथिअम ब्याट्रीको उत्पादनमा अग्रणी मानिन्छ। त्यस्तो ब्याट्रीको प्रयोग विद्युतीय सवारीसाधनदेखि ल्याप्टपसम्ममा हुन्छ।

आगो लाग्दा कारखानामा झन्डै एक सय कामदार रहेको बताइएको छ।

प्रतिक्रिया