निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल 

राम्रो अनलाइन     २४ जेठ २०८१, बिहिबार
निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल 


महोत्तरी–निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१–२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयका अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीको सहभागिता छ । कार्यक्रममा आयोगको तेस्रो रणनीतिक योजना (२०७६–२०८१ असार) को समीक्षा गरिनुसँगै अबको रणनीतिबारे सहभागीले सुझाव दिएका छन् । कार्यक्रममा निर्वाचन प्रणालीमै परिमार्जनको आवश्यकता सहभागीले औँल्याएका छन् । 

यसैगरी निर्वाचन खर्चिलो हुँदै गएको, अनुगमन प्रभावकारी बनाइनुपर्ने, कामका लागि विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि कानुन तर्जुमा गर्न सुझाव दिएका आयोगका उपसचिव डा थानेश्वर भुसालले जानकारी दिए । अन्तरक्रियामा विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरिन सुझाव सहभागीले दिएका छन् । कार्यक्रममा आयोगका सचिव रविलाल पन्थी, सहसचिव, उपसचिव र अधिकृतको सहभागिता छ । छलफलमा प्राप्त सुझाव अबको रणनीतिक योजनामा गाभिने सचिव पन्थीको भनाइ छ । 

आयोगले मुलुकका सातवटै प्रदेशमा छलफल चलाइरहेको जनाएको छ । यसअघि लुम्बिनी र कर्णाली प्रदेशमा अन्तक्र्रिया सम्पन्न भएका छन् । अब मधेसपछि बाँकी तीन प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिएपछि रणनीति तर्जुमा लिपिबद्ध गरिने सचिव पन्थीले बताए । रणनीति तर्जुमा गरिनुअघि सरोकारवालाबिचको छलफलले आयोगका अहिलेसम्मका उपलब्धि र चुनौतीबारे जानकारी पाउनसँगै अबको रणनीतिका लागि सुझाव दिन पाउने अवसर मिलेको बारा जिल्लाबाट सहभागी भएका ज्योति साहको भनाइ छ। 

प्रतिक्रिया