काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि अब राजनीतिले नयाँ मोड लिने चर्चा परिचर्चा सुरु भएको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको यो निर्णय सँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई कित्ता क्लियर गर्ने दबाब बढेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले देउवालाई बुढानिलकण्ठमा भेटेर सरकार गठनको अग्रसरता लिन भनेका थिए। त्यही अनुरुप कांग्रेसले केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेको हो ।
तर, माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले सरकार अल्पमतमा परेको छैन । माओवादीले समर्थन फिर्ता लिने त भनेको छ । तर, समर्थन फिर्ता लिएको छैन । कांग्रेसको यो निर्णयले माओवादीलाई दबाब परेको छ ।
अर्को जसपामा सत्ता समीकरणमा कसलाई समर्थन गर्ने भन्नेमा विवाद छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई नै समर्थन गर्ने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने ओली सरकार जसरी भएपछि हटाउनु पर्ने पक्षमा छन् ।
अहिले सत्ताको मियो ३२ सांसद भएको जसपा छ ।