इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई ६,४३९ मतको अग्रता 

राम्रो अनलाइन     १७ वैशाख २०८१, सोमबार
इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई ६,४३९ मतको अग्रता 


इलाम- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन् ।  फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ । 

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४ सय  १० मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २ सय ४२  मतसहित चौथो स्थानमा छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गरेका छन्।

छवटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया