परम्परागत होली पछ्याउँदै राना थारू समुदाय

राम्रो अनलाइन     १५ चैत २०८०, बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय


कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन्। गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उहाँलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् ।

सोहीअनुसार चालु वर्षका लागि सुन्दरपुरमा राना बस्तीको चाकर चुनिएका रामस्वरुप रानाले होलीलाई घर–घर पुर्याइरहेका छन् । ‘चाकर चुनिएपछि घरघरमा पुगेर होली खेल्ने विषयमा बताउने र खेलाउने काममा व्यस्त छु”, रानाले भन्नुभयो, “हाम्रो समुदायमा पूर्णिमादेखि सात दिनसम्म होली खेल्ने प्रचलन छ ।’

होली खकडेरा पर्व मनाएर विर्सजन गर्ने प्रचलन रहेको उनले बताए । केही दशकअघिसम्म खकडेरा पर्वपछि पनि महिना दिनसम्म होली खेल्ने प्रचलन थियो । त्यो अहिले हट्दै गएको छ । ‘होलीबाट सुन्दरपुरमा हामीले रु ४०–५० हजार सङ्कलन गरेका छौँ’, उनले भने, ‘सङ्कलित रकम धार्मिककार्यमै खर्च गर्छौँ  ।’

उनले परम्रागत पहिरन लगाएर सबै उमेर समूहका नागरिकले होली खेल्ने गरेको बताए । ‘होली खेल्ने क्रममा घरमा पुगेकाहरूलाई भोजन गराउने प्रचलन पनि छ’, उनले भने, ‘खेल्नेलाई मिष्ठान भोजन गराएर बिदा दिने प्रचलन पनि छ ।’

उनले राना समुदायको नयाँ पुस्ता परम्परागत होली पछ्याउँदै गइरहेको बताए । ‘युवायुवती नै होलीमा निकै सक्रिय भएर खेलिरहेका छन्’, उनले भने, ‘होली पुस्ता हस्तान्तरण पनि हुँदैछ ।’ होलीमा भगवान् श्रीकृष्ण, राम र शिवको लीलाको समेत गीतमार्फत चर्चा गर्ने गरिएको छ ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायको बस्तीमा यतिबेला होलीको रौनक छाएको छ । आफ्नो समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि यो समुदायले होली खेल्ने गरेको स्थानीय बताउँछन् ।

त्यसैगरी बेदकोट नगरपालिका–६ सिसैयाका भोजराज रानाले थारू समुदायले जिउँदो र मरेको गरी दुई किसिमको होली मनाउने गरेको बताए । राना समुदायले ३० दिनसम्म (जिउँदो) होली र फागू पूर्णिमादेखि आठ दिनसम्म मरी होली (मरेको होली) चल्ने गरेको उनले बताए। फागू पूर्णिमाका दिन जलाइएको होलीको खरानीको टीका लगाउने प्रचलन छ ।

होलीको टीका लगाएको दिनदेखि राना समुदायको मरी होली सुरु हुन्छ । यो होली यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । थारू समुदायले सबैभन्दा ठूलो पर्व होलीलाई लिँदै आफ्नो भाषामा नाचगान र पहिरन लगाएर गाउँगाउँमा गएर रमाउने चलन छ । 

होलीपर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान खाने गरेको सम्बन्धित समुदाय बताउँछन् । होलीपर्वको राना थारू समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारूले होरी पर्व मनाउँछन् ।
     
यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अगाल्ने जनविश्वाससमेत रहेको छ । युवायुवतीले रातिको समयमा होली नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । 

राना थारूले होलीपर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम छ । होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर) मा चराइ गरेर विसर्जन गरेपछि विधिवत रूपले होरीपर्वको समापन हुने गर्दछ । 

भीमदत्त नगरपालिका–१४ स्थित राना थारू सामुदायिक घरबास (होमस्टे) का सचिव चेतराम रानाले मरी होलीको रौनकता बढेको बताए । ‘एक महिनासम्म खेल्ने गरेको जिउँदो होली खेल्ने क्रम हटिरहेको छ’, उनले भने, ‘समय क्रमअनुसार यो होलीको प्रभाव घट्दै गयो ।

प्रतिक्रिया