उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै

राम्रो अनलाइन     १६ फागुन २०८०, बुधबार
उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै


काठमाडौँ–निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।
     
कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य र बझाङ ९क० को प्रदेशसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको मिति निर्धारण भएको छ ।
    
आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्च्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि आगामी चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

प्राप्त निवेदन, सूचना र उजुरीउपर कानुनबमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया