कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘क्याटमान्डू’ सविन श्रेष्ठको अभिनय यात्राको पहिलो खुड्किलो हो । यही सिरियलबाट ख्याति कमाएर उनले फिल्म ‘अन्दाज’मा हिरोका रूपमा ब्रेक पाएका थिए । त्यसयता ५० भन्दा बढी फिल्ममा काम गरिसकेका उनी सुगठित शरीरवाला हिरोका रूपमा परिचित छन् । उनले आफ्नो फिटनेस अनुभव सुनाएका छन् ।
मोटाउन जिम
सानोमा म असाध्यै दुब्लो थिएँ । क्षेत्रपाटीतिर बस्थेँ । टोलका दाइहरू जिम जान्थे । उनीहरूको देखासिकी र दुब्लो ज्यान भरिलो देखाउन जिम जान थालेँ । सबैभन्दा पहिला नरदेवीको युनिभर्सल जिममा गएँ । २०५६ सालमा पहिलोपल्ट जिम गएको थिएँ । त्यसयता निरन्तर जाने गरेको छु । सुटिङको बेला, काठमाडौँबाहिर भएको बेला चाहेर पनि जिम जान सकिन्न । नत्र, हरेक हप्ताको छ दिन जिम जान्छु । मोटाउने उद्देश्यले जिम जान थालेको थिएँ । त्यो उद्देश्य धेरै वर्षपहिले पूरा भइसक्यो । अब चाहिँ सिक्स प्याक एब्सका लागि जिम जान्छु । बीचमा एक पटक निस्कन पनि लागेको थियो तर व्यस्त भएर निरन्तर जिम जान सकिएन । चाँडै सिक्स प्याक एब्ससहित फिल्ममा देखिने रहर छ ।

दिनअनुसार अभ्यास
जिम जाने मात्र होइन, गएपछि के गर्ने भन्ने पनि तालिका बनाएको छु । अरूले कसरी गर्छन्, थाहा छैन । तर, मैले भने दिनअनुसार अभ्यास गर्छु । आइतबार छातीको काम गर्छु भने सोमबार बाइसेप्स, ट्राइसेप्सको अभ्यास गर्छु । मंगलबार कार्डियोका लागि छ्ट्याएको छु । बुधबार सोल्जरको व्यायाम गर्छु । बिहीबारको दिन ब्याकका लागि छुट्याएको छु भने शुक्रबार थाई र लेगको काम गर्छु ।
डाइट प्लान
डाइट प्लानका लागि आजभोलि फिटबक्सको सहारा लिने गरेको छु । यो अनलाइन साइट हो, जहाँ आफ्नो वेट बताएपछि उसैले खान हुने÷नहुने सबै कुरा प्लान गरिदिन्छ । अनि, खाना पनि डेलिभरी गरिदिन्छ । बिहान निस्किएपछि घर जान पाउँदिनँ । बाहिर जे पायो, त्यही खानुभन्दा फिटबक्समा अर्डर ग¥यो, ढुक्क भइन्छ । अहिले चाहिँ फिटबक्सले मलाई लो क्यालोरी भएको खाना खुवाउँछ । जाडो याममा वजन बढाउने र गर्मीमा घटाउने गरेको छु । अहिले त्यहीअनुसार खाना खाइरहेको छु ।
एकहोरो जिम मात्र गरेर पनि हुन्न । सही डाइट प्लान चाहिन्छ । शरीर बनाउन ३० प्रतिशत जिमको हात हुन्छ भने ७० प्रतिशत डाइटको हुन्छ जस्तो लाग्छ । स्पेसल केही बार्ने गरेको छैन । मन लागेको कुरा खाइदिन्छु । मन लागेको कुरा एक दिन खाँदैमा केही फरक पर्दैन । जिम गर्ने अनि जे पायो त्यही खाइरहने चाहिँ गर्नु हुँदैन । सुटिङमा जाँदा आजभोलि समस्या हुन्न । आफूलाई खान मन लागेको कुरा भनेपछि कुकले बनाइदिन्छन् । फिल्म क्षेत्रमा धेरै वर्ष भइसक्यो । अहिले कुक दाजुभाइ सबैलाई मैले के खान्छु भन्ने थाहा भइसकेको छ । त्यसैले सुटिङमा पनि डाइट मेन्टन गर्न गाह्रो हुन्न ।

डम्बेल सधैँ साथी
कामले गर्दा दिनहुँ जिम जान सम्भव हुँदैन । अझ सुटिङ त्यो पनि गाउँमा प¥यो भने जिम जाने सम्भावनै रहन्न । त्यसैले सुटिङ जाँदा सधैँ डम्बेल बोकेर जान्छु । यसले शरीरका सबै अंगको कसरत गर्न मिल्छ । यो भएपछि चेस्ट, बाइसेप्स, ट्राइसेप्स गर्न मिल्छ । सुटिङमा हुँदा कम्तीमा १०–११ नबजी सुटिङ सुरु हुँदैन । त्यही कारण सुटिङमा झन् धेरै समय हुन्छ । डे–नाइट सुटिङ छ भने मात्र गाह्रो हो । तर, कसरत गर्ने भन्दैमा सातै दिन जिम गर्नु हुन्न । मसल्सलाई पनि रेस्ट दिनुपर्छ । त्यसैले हप्तामा छ दिन जिम गरेर एक दिन आराम गर्छु ।