समृद्धिका आधार प्रकृति र संस्कृति

योगी विकासानन्द     ०१ चैत २०७७, आइतबार
समृद्धिका आधार  प्रकृति र संस्कृति

संसारका प्रायः मानिसलाई धन आर्जन गर्न सकियो भने आफ्नो जीवन सहज हुन्छ भन्ने लाग्छ। सुखी र खुशी हुने आशमा मानिसले अहोरात्र कुनै न कुनै कर्म गरिरहेको पनि छ। तर, अधिकांश मानिसलाई आफ्नो सोच, श्रम र ऊर्जा कहाँ केन्द्रित  गर्ने ? आफ्नो क्षमता के हो ? आफूले के गरियो भने धन आर्जन सहज हुन्छ जस्ता विषयमा सामान्यतः ज्ञान हुँदैन। कुनै पनि उपलब्धिका लागि लगन र परिश्रम अनिवार्य छन्।

तर, लगन र परिश्रमले मात्र उपलब्धि हात लाग्दैन। उदाहरणका लागि, सोलुखुम्वुको नाम्चे बजारमा म आइसक्रिमको कारखाना खोलेर सफल हुन्छु भन्ने उद्देश्यका साथ कठोर परिश्रम गरे पनि त्यसले सफलतासम्म पुर्‍याउँदैन। त्यस्तै, चैत लागेपछि जनकपुरमा ज्याकेट लगेर बेच्छु भनेर योजना बनाइयो भने त्यसले कहीँ पुर्‍याउँदैन।

अर्थात्, आफूसँग के छ ? बजार वा वातावरण कस्तो छ ? आफ्नो क्षमताले के भ्याउँछ भन्ने कुराको निक्र्याैल ननिकालीकन थालिएका कार्यहरूले सहजै सफलता दिँदैनन्। मानिसहरू यो विषयमा खासै ध्यान दिँदैनन्। अरूले के गरिरहेका छन्, त्यसमै आकर्षित हुन्छन् र त्यसलाई नै आफ्नो पेशा वा व्यवसाय बनाउन खोज्छन्। अरूको देखेर सुरु गरिएका पेशा वा व्यवसायले जब असफलता निम्त्याउँछ, अनि मानिसहरू यहाँ केही पनि हुँदैन भन्न थाल्छन्।

यो आम मानिसको मात्र कथा होइन। हाम्रो राज्य व्यवस्था र प्रणालीको पनि कथा हो। हाम्रो देशको विकासका लागि हामीसँग के छ ? हाम्रा आवश्यकता के हुन् ? कुन–कुन क्षेत्रमा काम गर्न सकियो भने हाम्रो देश समृद्ध हुन्छ ? जस्ता विषयको पहिचान आजसम्म पनि हुन सकेको छैन। सबैलाई विकास चाहिएको छ। विकासका लागि लगानी आवश्यक छ भन्ने विषयले उच्च बहस र प्राथमिकता पाइरहेको छ। तर, केको विकास ? कस्तो विकास ? र कहाँ, कुन क्षेत्रका लागि लगानी ? आजसम्म पनि नीति–निर्माता तहदेखि आम नागरिकसम्म स्पष्ट दैखिँदैनन्।

आज हामी हाम्रो देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको बताइरहेका छौँ। तर, वैदेशिक लगानी कुन क्षेत्रमा केन्द्रित गर्ने ? विदेशबाट ल्याइएको लगानीले हामी कृषि उत्पादनसम्बद्ध औजारका कारखाना खोल्ने हो कि ? ‘फुड प्रोसेसिङ’का विशाल–विशाल उद्योगहरू बनाउने कि ? हाइड्रोपावरहरू बनाउने कि ? सडक बनाउने कि ? एयरपोर्ट बनाउने कि ? के गर्ने ? एउटा राष्ट्रका लागि यी सबै कुरा चाहिन्छन् होला। तर, खास एउटा कुरामा राज्य केन्द्रित हुनैपर्छ। 

हाम्रो सम्भाव्यता र छिमेकी मुलुकहरूको अवस्थालाई दृष्टिगत गर्दा हामी पर्यटनको विकासले नै माथि उठ्न सक्छौँ। समृद्धि हासिल गर्न सक्छौँ। त्यसैले हामीले वैदेशिक लगानी भित्र्याइरहँदा पर्यटनमुखी विकासमा केन्द्रित भएर भित्र्याउनुपर्छ। पर्यटनका लागि एयरपोर्ट, सडकजस्ता पूर्वाधार आवश्यक छन् भने त्यो बनाउनु पनि पर्छ। तर, के भुल्नु हुँदैन भने पर्यटनको बृहत्तर विकासका लागि सडक निर्माण गरिएको हो। एयरपोर्ट बनाइएको हो। अर्थात्, पर्यटन विकासको लक्ष्यमा पुग्न जे–जे गर्नुपर्छ, सो–सो गरिएको हो। 

खास क्षेत्रको विकासका लागि लगानी ल्याउनुपर्छ भन्ने हाम्रो राष्ट्रिय ऐक्यबद्धता र अभियान बन्नुपर्छ। सोही आधारमा वैदेशिक लगानी भित्र्याइयो भने मात्रै हामीले समृद्ध नेपाल निर्माण गर्न सक्छौँ। तर, वैदेशिक लगानी ल्याएर कुन क्षेत्रमा लगानी गर्ने भन्ने राष्ट्रिय निक्र्याैल नबनीकन भित्र्याइएको लगानीले हामीलाई फाइदाभन्दा बेफाइदा नै बढी गर्छ।


खाडी मुलुकहरूले जसरी पेट्रोलियम पदार्थमा आधारित भएर वैदेशिक लगानी भित्र्याए, त्यसै गरी हामीले पनि पर्यटनमा आधारित वैदेशिक लगानी भित्र्याउन कोसिस गर्नुपर्छ। 

लगानीमैत्री नीति 

हाम्रो देशको नीति–नियम र कर्मचारी संयन्त्र लगानीमैत्री बन्न सकेका छैनन्। जबसम्म कर्मचारीतन्त्र र नीतिमा सुधार हुँदैन, तबसम्म सहज रूपमा वैदेशिक लगानी भित्रिन्न। छिमेकी मुलुक भारतले दशकौँदेखि लगानीका लागि संसारलाई आह्वान गर्दै आइरहेको थियो। तर, उसले सोचेजति वैदेशिक लगानी भित्रिएको थिएन। तर, जब उसले ‘सिंगल विन्डो क्लियरेन्स’को नीति कार्यान्वयनमा ल्यायो, त्यसपछि वैदेशिक लगानी भित्रिन थाले। फलस्वरूप पछिल्लो दशकमा भारतले उच्च विकासको गति समातिरहेको छ। 

आज नेपालमा कुनै विदशी व्यक्ति वा कम्पनी लगानी गर्छु भनेर आयो भने उसले कैयौँ हण्डर झेल्नुपर्छ। उसले धेरै संस्था र संयन्त्रबाट अनुमति लिनुपर्छ। त्यसपछि स्थानीय क्षेत्र (उद्योग, व्यापार गर्ने स्थल) मा कैयौँ असहज सम्झौता गर्न बाध्य हुनुपर्छ। यदि राज्यले ‘सिंगल विन्डो क्लियरेन्स’को नीति ल्यायो भने कुनै पनि लगानीकर्ताले यो हैरानी बेहोनुपर्दैन। लाइसेन्स प्राप्त गर्नेदेखि उद्योग, व्यवसाय सञ्चालन गर्ने भूगोल व्यवस्थापनसमेत राज्यले गरिदिन्छ। हामीले के बुझ्नुपर्छ भने कुनै पनि लगानीकर्ता लगानी गरेर नाफा कमाउन आएको हो, हण्डर र अनिश्चितता झेल्न होइन। 

अहिले हाम्रो देश राष्ट्रिय गौरवका आयोजनाअन्र्तगत फास्ट ट्र्याक निर्माणमा जुटिरहेको छ। सडकको फास्ट ट्र्याक निर्माणजस्तै वैदेशिक लगानी भित्र्याउने फास्ट ट्र्याक पनि हामीले निर्माण गर्नुपर्छ। लगानी भित्र्याउने फास्ट ट्र्याक निर्माण नगरीकन हाम्रो विकासको सपना सार्थकतातर्फ अगाडि बढ्दैन। हामीलाई वैदेशिक लगानी चाहिएको नै हो भने हामी मन, वचन र कर्मले नै वैदेशिक लगानी भित्र्याउन लाग्नुपर्छ। अलिकति विश्वास र अलिकति अविश्वास गरेर थालिएका कुनै पनि काम सफल हुन्नन्।

हाम्रो राष्ट्रिय आवश्यकता हो भने हामी वैदेशिक लगानीप्रति पूर्ण आश्वस्त बन्नैपर्छ। आज चीन, चीन बन्नुका पछाडि वैदेशिक लगानीको महत्त्वपूर्ण भूमिका छ। बेलायतका लागि बेलायतले बनाउने सामग्री आज लन्डनमा बन्दैन, चीनको कुनै औद्योगिक शहरमा बन्छ। आज संसारभरका मल्टी–नेसनल कम्पनीहरू चीनबाट आफ्ना सामग्री उत्पादन गरिरहेका छन्। चीनले लगानीका लागि फास्ट ट्र्याक निर्माण गरेकै कारण आज ऊ संसारको व्यापारिक हब बनिरहेको छ। 

प्रकृतिलाई बचाउँदै पर्यटन 

हामीलाई ठूलो एयरपोर्ट बनेपछि हाम्रो जीवनमा समृद्धि आउँछ कि जस्तो लाग्छ। त्यसै गरी, पूर्वपश्चिम रेल कुदेपछि हामी धनी बन्छौँ कि भन्ने सोच्छौँ। तर, यो पूर्ण सत्य होइन, अर्ध सत्य हो। यी समृद्धिमा जाने मार्ग हुन्। जहाँबाट हिँडेर हामी समृद्धिमा पुग्न सक्छौँ, समृद्ध वा धनी बन्नका लागि हामीले अरूलाई बेच्न सक्नुपर्छ। आज संसारका सम्पन्न भनिएका मुलुकहरू व्यापारी हुन्। जसले आफूसँग भएका वस्तु र सेवाहरू अरू मुलुकलाई बेच्छन्। एयरपोर्ट र सडक बन्दैमा हामी बेच्न सक्ने बन्छौँ भन्न सकिन्न। हामील बेच्ने भनेको हाम्रो प्राकृतिक सौन्दर्य हो। प्रकृतिलाई नबिगारीकन पर्यटन प्रवद्र्धन र विकास गर्ने मोडल हामीले तयार गर्नुपर्छ। 

उदाहरणका लागि, हाम्रा हिमालका सेरोफेरोमा होटलहरू बनाउने हो भने यसले संसारलाई आकर्षित गर्न सक्छ। हिमाल शान्ति र अध्यात्मका लागि महत्त्वपूर्ण स्थल हो। आजको युगमा मानसिक शान्ति सबैको चासो र खोजको विषय बनेको छ। यस्तो अवस्थामा हामीले संसारभरका लगानीकर्तालाई हिमाली रेन्जमा होटल बनाउन आह्वान गर्‍यौँ भने उनीहरू आकर्षित हुन्छन्। निर्माण गरिने सम्पूर्ण होटलहरू इको–फ्रेन्ड्ली हुनुपर्छ भनेर हाम्रो देशले मापदण्ड बनाउन सक्छ। होटल मात्र होइन, हिमालको रेन्जमा पर्यटनका जस्तासुकै पूर्वाधार निर्माणका लागि पनि राज्यले वैदेशिक लगानी भित्र्याउन सक्छ र हरेक पूर्वाधार निर्माणमा पर्यावरणमैत्री मापदण्ड कार्यान्वयन गर्न सक्छ

 
असी र बीस 

विकासका लागि भएको असी प्रतिशतलाई जोगाउने र आवश्यक बीस प्रतिशत भित्र्याउनुपर्छ। हाम्रो विकासले हाम्रो प्रकृति, संस्कृति र सम्पदाको असी प्रतिशत हिस्सालाई जोगाउनैपर्छ। यदि विकासअन्तर्गत एयरपोर्ट आवश्यक पर्‍यो भने एयरपोर्ट त बनाउन सकिन्छ, तर त्यसले बीस प्रतिशतभन्दा बढी प्रकृतिलाई क्षय गर्नु हुन्न। के बुझ्नुपर्छ भने कुनै पनि विदेशी नागरिक हाम्रो देशको ठूलो एयरपोर्ट हेर्न आउँदैन। ठूलो हिमाल वा विशाल जात्रा हेर्न आउँछ। एयरपोर्ट पर्यटक आउने साधन मात्रै हो, साध्य त उक्त पर्यटक हेर्न आउने प्रकृति हो। त्यसैले हामीले गर्ने सम्पूर्ण विकासमा प्रकृतिको कमभन्दा कम क्षय हुने अवधारणालाई अंगीकार गर्नुपर्छ। अर्थात्, असी–बिस। भएको असी बचाउने र नयाँ बीस मात्र थप्ने। 

बुद्धको लाभ लिन सकेनौँ  

प्रकृतिपछि हाम्रो देशले बेच्न सक्ने जडीबुटी र संस्कृति हो। तर, यी दुई विषय पनि हाम्रो देशको मूल प्राथमिकतामा पर्न सकेका छैनन्। मूल प्राथमिकतामा पर्नुपर्ने विषय विषयान्तर भइरहेको छ। हामीले मूल विषय पूर्तिका लागि आवश्यक सहयोगी क्षेत्रहरूलाई नै मूल विषयका रूपमा प्रचार गरिरहेका छौँ। आजको युगमा संसारका कुनै पनि मुलुकले आफूलाई आवश्यक सम्पूर्ण वस्तु तथा सेवाहरू उत्पादन गर्न सक्दैनन्। आफूसँग भएको बेच्ने र नभएको किन्ने हो। हामीले पनि पर्यटनलाई प्रमुख व्यापार बनाएर अन्य कुरा किन्न सक्छौँ। तसर्थ आवश्यक कुरा किन्न डराएर हुन्न। तर, आफ्नो पर्यटनको व्यापार बढाउनुपर्छ। 

देशले के गर्ने भन्ने विषय तय नभएकै कारण लुम्बिनी र बुद्धजस्ता हाम्रै ‘पेटेन्ट राइट्स’लाई हामीले आर्थिक उपार्जनसँग जोड्न सकिरहेका छैनौँ। संसारका करोडौँ  बौद्धमार्गीले अर्बाैं–खर्बाैं पैसा खन्याउन सक्ने स्थल नेपाललाई बनाउन सकिन्छ। जसको आधार लुम्बिनी र बुद्ध हुन्। 

म केही वर्षअगाडि बेलायत जाँदा सेक्सपियर जन्मिएको गाउँमा गएको थिएँ। सेक्सपियरको जन्मस्थलमा छिरेपछि पैसा खर्च गर्ने हजारौँ ठाउँ, सेवा र वस्तु छन्। सेक्सपियरको म्युजियमदेखि थिएटरसम्म त्यहाँ छ। त्यसै गरी, उनका पुस्तक, फिल्मलगायत यति धेरै वस्तु र सेवाको व्यवस्थापन छ, जहाँ तपाईं पैसा खर्च गर्न बाध्य हुनुहुन्छ। एक जना लेखकको जन्मस्थललाई बेलायले तीर्थका रूपमा स्थापित गरेको छ। तर, हामीले गौतम बुद्धको लुम्बिनीलाई नै पर्यटनको हिसाबले विकास गर्न सकेका छैनौँ। 

बुद्ध दर्शनका पुस्तक, अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्र र अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालयलगायत अनेकौँ अवधारणासहित लुम्बिनी र गौतम बुद्धमा आधारित काम गर्ने हो भने मात्रै पनि हामीले देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छौँ। 

विकास र समृद्धिका लागि हामी पर्यटनमा नै केन्द्रित हुनु जरुरी छ। जसको आधार हामीलाई प्रकृतिले दिएको छ भने दुई विशाल छिमेकीको जनसंख्या यसको अर्थपूर्ण बजार हो। अब देशले समग्र रूपमा समृद्धिका लागि पर्यटन विकासमै केन्द्रित हुने नीति अख्तियार गर्नुपर्छ। सबै गर्ने भनेर लाग्दा केही पनि हात नलाग्ने अवस्था बन्न सक्छ। 

प्रतिक्रिया