संसारमा भएका विचित्र सत्य

एजेन्सी     २० फागुन २०७७, बिहिबार
संसारमा भएका विचित्र सत्य

–पहिलो विश्वयुद्धताका सन् १९१४ अगस्ट २४ मा ब्रिटिस सेनाका क्याप्टेन रोबर्ट क्याम्पबेललाई जर्मन सेनाले बन्दी बनायो। उनलाई युद्धबन्दी शिविरमा पठाइयो। त्यहाँ उनले आफ्नी आमा क्यान्सरले बित्न लागेको खबर पाए। उनले जर्मनीका तत्कालीन शासक कैजर विलियमलाई याचना गरेर साह्रै भावुकतापूर्ण चिठी लेखे। केही समयपछि उनलाई जर्मन सेनाले छोडिदिने भयो, तर शर्त थियो– उनी फर्किनुपर्छ। क्याम्पबेलले शर्त माने। उनी नेदरल्यान्ड्स हुँदै बेलायत फर्किए। सन् १९१७ को फेब्रुअरीमा उनकी आमा बितिन्। त्यसपछि क्याम्पबेल जर्मनीको युद्धबन्दी शिविरमा फर्किए। वचन पूरा गरेका उनले त्यसपछि भने त्यहाँबाट भाग्ने कोसिस गरेका थिए। 

–सन् १९३० मा अमेरिकाको अर्थतन्त्र महामन्दीको चपेटामा परेको थियो। काम नपाएर अमेरिकीहरूको बेहाल थियो। यही समयमा शिकागो शहरमा ग्याङस्टर एल क्यापोनले निःशुल्क खाना खुवाउने ‘सुप किचेन’ खोलेका थिए। विभिन्न गैरकानुनी धन्दामा संलग्न र जनताको शत्रु भनिइने उनले खोलेको भान्छाले दिनमा २२ सय बेरोजगारलाई बिहान, दिउँसो र साँझ गरी तीन पटक खाना खुवाउँथ्यो। त्यतिबेलाका थुप्रै पत्रिकाले उनको भान्छाबारे समाचार लेखेका थिए। प्रहरी–प्रशासनले मानवतावादी कामको आवरणमा जनताको मन जित्न खोजेको बताएको थियो। तर, बेरोजगारहरूले अमेरिकी राज्यले भन्दा एल क्यापोनले जनताको ख्याल गरेको भन्दै उनको तारिफ गरेका थिए।

प्रतिक्रिया