काठमाडौं–नमूना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेशन शो “विविधायन सौन्दर्यम्” सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको भव्य उत्सवका रूपमा सम्पन्न भएको छ । शनिबार, २८ मार्च २०२६ मा झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपाल, मा आयोजित उक्त कार्यक्रमले रनवेलाई जीवित क्यानभासमा रूपान्तरण गर्दै फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको अद्भुत संगम प्रस्तुत गर्यो। फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विधार्थी फेशन डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रमले छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत गर्यो जसले नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताको समृद्धतालाई प्रभावशाली रूपमा उजागर गरेको पाइयो ।

“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण कार्यक्रमको वैचारिक आधार निर्माण गरेको थियो । नेपालका वन, सिमसार क्षेत्र, हिमाल, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिएर डिजाइनरहरूले प्रकृतिका विविध तत्वहरूलाई फेशन कथामा रूपान्तरण गरेका थिए । भव्य रनवे सेटअपमा ६२ वटा विशिष्ट डिजाइनर पोशाकसहित छ वटा विशेष “क्रिएटिभ मास्टरपिस” प्रस्तुत गरिएका थिए, जसले प्रकृति, संस्कृति र समकालीन डिजाइनबीचको सन्तुलित समन्वयलाई उजागर गरे ।

कार्यक्रमको औपचारिक शुभारम्भ नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको प्रेरणादायी रनवे उपस्थितिबाट भएको थियो । उनी प्रमोशनल मोडलहरूसँग रनवेमा प्रस्तुत भइ कार्यक्रमको औपचारिक आरम्भ गरेकी थिइन् । सम्पूर्ण कार्यक्रमको कोरियोग्राफी चर्चित फेशन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए, जसको सशक्त प्रस्तुति र दृश्यात्मक संयोजनले संग्रहहरूको रचनात्मक दृष्टिलाई अझ प्रभावशाली बनाएको थियो । कार्यक्रममा व्यावसायिक मोडलहरू तथा एनसीएफटीका विद्यार्थीहरु गरी ३२ जना मोडलहरुले डिजाइनरहरूको सिर्जनालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रम सफल बनाउन २०औँ ब्याचका विद्यार्थीहरूको समर्पित व्यवस्थापकीय टोलीले पर्दा पछाडि अथक परिश्रम गरेको थियो । रिया श्रेष्ठ, ईशा महर्जन, सन्ध्या निरौला र सरस्वती सिंहले कार्यक्रमको समन्वय अन्तर्गत कार्यक्रम व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको थियो ।

उक्त फेसनमय साँझको पहिलो संग्रह “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो ले हिमनदी र पानीबीचको गतिशील सम्बन्धलाई विषयवस्तु बनाएको थियो । हिमनदीबाट पग्लेर बग्ने जलधाराको प्रक्रियाबाट प्रेरित यस संग्रहका पोशाकहरू संरचित, क्रिस्टलजस्ता आकृतिबाट सुरु भई क्रमशः तरल र प्रवाहमय स्वरूपतर्फ रूपान्तरण भएका थिए । सेतो, सिल्भर, टिल र जेड रंगहरूको प्रयोगले प्रकृतिमा हुने रूपान्तरणको प्रक्रियालाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको थियो ।

त्यसपछि प्रस्तुत गरिएको “इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स संग्रह भृंगाहरूको सुरक्षात्मक बाह्य संरचनाबाट प्रेरित थियो । इरिडेसन्ट रंगहरू र सशक्त वास्तुकलात्मक सिल्हुएटहरूको संयोजनले शक्ति र सौन्दर्यबीचको सन्तुलनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।

तेस्रो संग्रह “आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङले माटोका गहिरा तहहरूभित्र लुकेका प्राकृतिक प्रक्रियाहरूलाई विषयवस्तु बनाएको थियो । हल्का सतही बनावटबाट सुरु भई क्रमशः गहिरा र सुरक्षात्मक संरचनातर्फ विकसित हुने डिजाइनहरूले स्मृति, दबाब र पुनर्जन्मको प्रतीकात्मक कथा प्रस्तुत गरेका थिए ।

हिमाली भौगोलिक सौन्दर्यबाट प्रेरित “एभियोराः विङ्स अफ द हिमालय संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाका विषयहरूलाई केन्द्रमा राखेको थियो । हल्का कपडा, पखेटाजस्ता संरचना र गतिशील सिल्हुएटहरूले हिमाली वातावरणको गति, सहनशीलता र उचाइतर्फ उन्मुख आत्मालाई प्रतिबिम्बित गरेका थिए ।

पर्यावरणीय चेतनालाई केन्द्रमा राख्दै प्रस्तुत गरिएको “रेड लिस्ट रिभेरी संग्रहले नेपालका संकटग्रस्त वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—प्रति ध्यानाकर्षण गरायो। माटोका रंगहरू, संरचित डिजाइन तथा गाढा रातो रंगको प्रयोगले संरक्षण, अस्तित्व र जोखिमका विषयहरूलाई सशक्त रूपमा अभिव्यक्त गरेको थियो ।

कार्यक्रमको अन्तिम संग्रह “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपालले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक ढंगले प्रस्तुत ग¥यो । गुलाबी र हरिया रंगहरूको संयोजन, कोमल कपडा तथा आकर्षक सिल्हुएटहरूले गुलाब, लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई अमूर्त शैलीमा अभिव्यक्त गरेका थिए ।
यी छवटै संग्रहहरूले समकालीन नेपाली फेशनको विकसित हुँदै गएको पहिचानलाई उजागर गरे—जहाँ डिजाइन केवल वस्त्र निर्माणमा सीमित नभई विचार, कथा र भावनात्मक अभिव्यक्तिको माध्यम बनेको देखियो । प्रत्येक संग्रहको अन्त्यमा एउटा “मास्टरपिस” डिजाइन प्रस्तुत गरिएको थियो, जसले डिजाइनरको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई प्रतिनिधित्व गरेको थियो । मोडलहरू रनवेमा आकर्षक रूपमा प्रस्तुत हुँदा दर्शकहरू प्रत्येक पोशाकले बोकेको कथामा डुबेका महशुष भएको थियो । सूक्ष्म हस्तकला, कल्पनाशील सिल्हुएट तथा प्रतीकात्मक रंग संयोजनले दर्शकहरूलाई प्रेरित र मन्त्रमुग्ध बनायो । यसरी फेशन केवल सौन्दर्य प्रदर्शनमा सीमित नरही कथा र भावनाको सशक्त माध्यमका रूपमा स्थापित भएको देख्न पाइयो ।

कार्यक्रममा एनसीएफटी फेशन क्याटलगको चौथो संस्करणको विमोचन पनि गरिएको थियो । उक्त क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा। कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा। सन्देश दास श्रेष्ठ, संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल र मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए । उक्त अवसरमा कलेजका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ तथा एनसीएफटीको १९औँ ब्याचका कार्यक्रम संयोजकहरूको उपस्थिति रहेको थियो ।

२०औँ ब्याचका विद्यार्थी डिजाइनरहरूको सिर्जनालाई मूल्यांकन गर्न प्रतिष्ठित निर्णायक मण्डल सहभागी थियो । जसमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा। कुल बहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्राडा जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा सुनिल चित्रकार, फेशन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र मनिश राई तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा। सन्तोष उपाध्याय रहेका थिए ।
यो ग्राजुएसन फेशन शो पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित ब्याचलर अफ फेशन डिजाइन एन्ड म्यानेजमेन्ट बिएफडिएम कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्ग हो, जसले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, सिर्जना र डिजाइन नवप्रयोगहरू प्रस्तुत गर्ने व्यावसायिक मञ्च प्रदान गर्दछ ।

समग्रमा, एनसीएफटीको २०औँ ग्राजुएसन फेसश शो नेपाली युवा डिजाइनरहरूको सिर्जनात्मक क्षमता, सीप र दृष्टिको सशक्त अभिव्यक्ति बनेको देख्न पाइयो । प्राकृतिक सम्पदा, जैविक विविधता र समकालीन फेशनलाई एकै सूत्रमा गाँस्दै “विविधायन सौन्दर्यम्” मात्र एउटा रनवे कार्यक्रममा सीमित नरही नयाँ पुस्ताका नेपाली फेशन डिजाइनरहरूको कल्पनाशक्ति, समर्पण र भविष्यका सम्भावनालाई उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुन पुगेको महशुस गरियो ।


























